‘ब्ल्याक’ मा बच्चादेखि बृद्धसम्मलाई समेट्ने कथा



भाद्र १ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘ब्ल्याक’ ले आफ्नो प्रचारलाई तिव्र बनाएको छ । मोफसलका मुख्य स्टेशन केन्द्रित प्रचार अभियान बोकेर कलाकार सहितको निर्माण टिम यतिबेला पूर्वी नेपाल पुगेको छ ।

मंगलवार बिर्तामोडमा आयोजित पत्रकार भेटघाटमा भेटिएका प्रमुख दुई कलाकार आकाश र आँचल फिल्मलाई लिएर उत्साहित देखिए । निर्देशक प्रदिप श्रेष्ठले बनिरहेका लभस्टोरी चलचित्रभन्दा ‘ब्ल्याक’ को प्रस्तुती केहि भिन्न भएको दाबी गरेका छन् ।


‘चलचित्रले जिन्दगीका रङहरुको ब्याख्या गरेको छ’, निर्देशक श्रेष्ठले भने । बोर्तामोड र दमक पश्चात् इटहरी पुगेकी निर्मात्री आश्मा पाण्डेले आफू पूर्वकै चेली भन्दै चलचित्र निर्माणमा आफ्नो उपस्थितिलाई दरिलो बनाउन पूर्वेली दर्शकको साथ र सहयोगको अपेक्षा राखिन् ।

लगानीमा कुनै कन्जुस्याइँ नगरेको र प्रोडक्ट उत्कृष्ट बनेको भन्दै हल पुग्ने दर्शकलाई आफ्नो चलचित्रले निराश नबनाउने उनको तर्क छ । अभिनेत्री आँचलले ‘ब्ल्याक’ आफूले गरेका यसअघिका चलचित्रभन्दा भिन्न रहेको भन्दै आफ्नो पुस्ताका सबै दर्शकको प्रतिनिधित्व चलचित्रले गरेको दाबी गरिन् ।

उनले भनिन्, ‘बच्चादेखि बृद्धसम्म सबैलाई समेट्ने किसिमको कथा चलचित्रले बोकेको छ । पछिल्लो पुस्ताका युवाहरुको जीवन कसरी अन्धकारमा पर्छ र त्यसलाई उज्यालोतर्फ डोर्‍याउँदा आइपर्ने अनेकन परिस्थितीको वरीपरी चलचित्र घुमेको छ ।’

उता अभिनेता आकाशले युवाहरुको लभस्टोरीदेखि दैनिक जीवन भोगाइको केहि फरक परिवेश चलचित्रले बोल्ने भन्दै पृथक स्वादको प्रेमको आभाष ‘ब्ल्याक’ ले दिलाउने बताए ।


मोफसल केन्द्रिय प्रचारलाई अघि बढाउने क्रममा सोमबार बिर्तामोड र दमक पुगेको ‘ब्ल्याक’ टिम मंगलबार इटहरी र धरान, बुधबार हेटौंडा, बिहिबार चितवन र शुक्रबार बुटवल हुँदै पोखरा पुगेर राजधानी फिर्नेछ ।

मौनता श्रेष्ठको कथामा बनेको चलचित्रका कार्यकारी निर्माता चेतनकुमार पाण्डे हुन् । चलचित्रमा आकाश र आँचलसँगै सुन्दर श्रेष्ठ, आयुष रिजाल, प्रिया रिजाल, धिरेन शाक्य लगायत लिड रोलमा छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu