भाद्र १ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मिस्टर भर्जिन’ यतिबेला मोफसल टुरमा छ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमले प्रचारलाई आक्रामक बनाएको छ ।
बुधवार चितवनमा आयोजित पत्रकार सम्मेलनमा अभिनेता गौरव पहारीले चलचित्रको नाम ‘मिस्टर भर्जिन’ भएकै कारण कसैले पनि नाक खुम्च्याउन नपर्ने बताए । ‘म प्रायः फरक जनराको चलचित्र गर्दै आइरहेको छु । र, ‘मिस्टर भर्जिन’ मा पनि मेरो भूमिका फरक पाउनुहुन्छ’, उनले भने ।

यौन मनोविज्ञानमा आधारित रहेर नेपालमा पहिलो पटक सेक्स कमेडी बेसको चलचित्र बनेको उनले बताए । पहारीले चलचित्रको ट्रेलर हेरेर गाली गर्नेहरुको फिल्म हेरेपछि मन बदलिने समेत बताए ।
अभिनेत्री मरिश्का पोख्रेलले ‘मिस्टर भर्जिन’ मा आफूले कल गर्लको भूमिका निर्वाह गरेको बताइन् । उनले कल गर्लको भूमिकालाई न्याय दिन आफूले कल गर्लहरुको जीवन र दैनिकी बारे पनि लामो अध्ययन गरेको बताएकी छन् ।
चलचित्रको प्रस्ताव आउँदा के सोच्नुभएको थियो ? पत्रकारको प्रश्नमा उनले नामलाई लिएर आफ्नो कुनै आपत्ति नभएको बताइन् । ‘मलाई नाममा केही आपत्ति थिएन । कथा सुनेपछि त झन् मैले यो चलचित्र छाड्नु हुन्न भन्ने लाग्यो, त्यसैले काम गर्न राजी भएँ’, मरिश्काले भनिन् ।
कलाकार कमलमणी नेपालले चलचित्रले दिन खोजेको कन्टेन्ट निकै राम्रो भएको कारण आफूले ‘मिस्टर भर्जिन’ मा काम गरेको बताए । उता निर्माता प्रजापती सिवाकोटीले ‘मिस्टर भर्जिन’ राम्रो बनेको भन्दै दर्शकलाई एकपटक हेर्न आग्रह गरे । उनले चलचित्र नहेरी कमेन्ट गर्नु भन्दा हेरेर मात्र कमेन्ट गर्न सबैलाई आग्रह गरेका छन् ।
वल्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसन प्रा.लीको ब्यानरमा निर्माण भएको ‘मिस्टर भर्जिन’ मा गौरव पहारी, विजय बराल, कमलमणी नेपाल, मरिश्का पोखरेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ ।

‘मिस्टर भर्जिन’ मा महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायाङ्कन, विक्रम स्वाँर, दीपक याम सिंहको कोरियोग्राफी ,सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, बुलेट फ्लो, आधा सुर, आर जे, मिस्टर प्रिन्सको सङ्गीत र मिलन डी. काप्रीले सम्पादन रहेको छ ।
यस चलचित्रमा खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सह-निर्माताको रुपमा सन्दिप उप्रेती रहेका छन् ।




