दीपेन्द्र लामाले निर्देशन गर्ने तया अभिनेता खगेन्द्र लामिछानेको प्रमुख भूमिका रहने चलचित्र ‘गोपी’ बाट अन्तिम समयमा अभिनेत्री बर्षा सिवाकोटीले हात धुनु परेको छ । उनी केही हप्ता अगाडि मात्र यस चलचित्रमा अनुबन्ध भएकी थिइन् ।
चलचित्रमा सिवाकोटीको ठाउँमा उनकै प्रतिस्पर्धी अभिनेत्री बर्षा राउत भित्रिएकी छन् । उनले ‘गोपी’ साइन गरिसकेकी छन् । उक्त चलचित्रमा अभिनेत्री सुरक्षा पन्तको पनि प्रमुख भूमिका रहनेछ । अब खगेन्द्रले चलचित्रमा सुरक्षा र बर्षासँँग रोमान्स गर्नेछन् ।
छायांकनको तरखरमा रहेको यस चलचित्रको अहिले वर्कसप चलिरहेको छ । चलचित्रका कार्यकारी निर्माता श्रीधर पौडेलले अभिनेत्री बर्षा सिवाकोटीको व्यस्त सेड्युलका कारण ‘गोपी’ छाडेको बताए ।
आरोही केसी निर्माता, श्रीधर पौडेल कार्यकारी निर्माता रहेको ‘गोपी’ को छायांकन आगामी भदौ १ गते काठमाडौंमा सुरु हुँदैछ । न्ह्यू बज्राचार्य, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहने चलचित्रका गीतहरु विप्लव प्रतीक र बुद्धिसागरले लेखेका छन् ।
चैत १५ गते रिलिज गर्ने तयारी भइरहेको यस चलचित्रमा निर्देशक दीपेन्द्रको कथा, सामिप्य तिमल्सिनाको पटकथा, शैलेन्द्र डि कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहनेछ ।