९६ लाखको ‘मेरी मामु’ को प्रचारमा ३८ लाख खर्च गर्दै निर्माता सेन



‘चंखे शंखे पंखे’ र ‘प्रेमगीत’ का दुई सिरिज निर्माण गरिसकेका निर्माता सन्तोष सेनको चौँथो चलचित्र ‘मेरी मामू’ आउँदा भाद्र १५ गतेबाट रिलिज हुँदैछ । यसमा उनले आफ्नै ६ वर्षे छोरा आयूब सेनलाई डेब्यु गराएका छन् ।

उनले निर्माण गरेका तीन चलचित्र लभस्टोरी बेसका थिए । तर ‘मेरी मामु’ मा उनले फरक कथा टिपेका छन् । आमा र छोरा बीचको दूरी र आत्मीयताको कथा चलचित्रले बोल्छ । यो चलचित्रको एक गीत समेत सार्वजनिक भइसकेको छ । गीतबाट आयुबको चर्चा चुलिएको छ ।

केही दिनमा ट्रेलर सार्वजनिक गर्ने तयारीमा रहेका निर्माता सेनले दुई चरणमा चलचित्रको प्रचार गर्ने बताए । पहिलो चरणको प्रचार सकिसकेको छ । देशका प्रमुख स्टेशनमा पत्रकार सम्मेलनदेखि स्कूल-स्कूलमा गएर चलचित्रको विषयमा जानकारी गराइएको थियो । दोस्रो चरणको प्रचार ‘प्रेमगीत २’ शैलीको गर्ने सेनको तयारी छ ।

उनका अनुसार, देशभर चलचित्रको प्रचार-प्रसारलाई आक्रामक बनाउन सांगीतिक कन्सर्ट गरिँदैछ । प्रायः निर्माताहरु चलचित्रको प्रचार गर्ने बेला कुना पस्ने गर्छन् । लाखौं खर्च हुने हुँदा हत्तपत्त निर्माताले प्रचारका लागि खल्ती रित्तो बनाउन चाहँदैनन् ।


आखिर निर्माता सेनले प्रचारमा कति खर्च गर्दैछन् ? उनले भने, ‘२५ लाख छुट्याएको थिएँ अब यतिले नपुग्ने देखिएको छ । थप १३ लाख अरु छुट्याएको छु ।’ ९६ लाखमा बनेको चलचित्रको प्रचारमा मात्र ३८ लाख खर्च गर्नु सानो कुरा होइन ।

निर्माता सन्तोष सेनले चलचित्र राम्रो बनेका कारण प्रचारमा पैसा खर्च गर्न नडराएको बताए । उनले भने, ‘चलचित्रमा पनि हामीले लगानी गर्नुपर्ने ठाउँमा काहिँ कञ्जुस गरेका छैनौं । म खुसी छु खर्च भएअनुसार चलचित्र बनेको छ । आयुबले राम्रो काम गरेको छ । चलचित्रले लगानी सजिलै उठाउँछ ।’

प्रचारलाई आक्रामक बनाउने क्रममा ‘मेरी मामु’ टिमले ‘आफ्नो मामुसँग थाइल्याण्ड टुर जाऔँ’ शिर्षकमा एउटा प्रतियोगिता अगाडि सारेको छ । आफ्नो आमाको बारे २५० शब्दमा नबढाई बाक्यांश लेखेर पठाउने उत्कृष्ट ५ जनालाई थाइल्याण्ड घुमाउने प्रतियोगिताको घोषणा गरिएको छ ।

यम थापा निर्देशित यो चलचित्रमा ६ वर्षे आयुबसँगै कुसुम गुरुङ, शारुक ताम्राकार, अश्लेषा ठकुरीलगायतका कलाकाहरुको अभिनय छ । काठमाण्डौंदेखि देवघाटसम्मको टुरमा आमा-छोराको सामिप्य र उत्तरचढावलाई यस चलचित्रमा प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu