‘गोपी’ मा विपिनले गरे खगेन्द्रलाई रिप्लेस



कुनै चलचित्रमा कलाकार बाहिरिनु र भित्रिनु नौलो कुरा होइन । तर, अभिनेत्री बाहिरिएको २४ घण्टामा अभिनेताले पनि चलचित्र छाड्नु पक्कै अनौठो हो । चलचित्र ‘गोपी’ बाट अभिनेत्री वर्षा सिवाकोटी ‘आउट’ र अभिनेत्री वर्षा राउत ‘इन’ भएको दुई दिन नवित्दै अभिनेता खगेन्द्र लामिछाने पनि बाहिरिएका छन् ।

मंगलवार राजधानीमा आकस्मिक पत्रकार सम्म्मेलन गर्दै निर्माण टिमले खगेन्द्रको ठाउँमा अभिनेता विपिन कार्की भित्रिएको औपचारिक जानकारी गराएको छ । भाद्र पहिलो साताबाट फ्लोरमा जान लागेको यो चलचित्र विपिनले रातारात स्क्रिप्ट पढेर साइन गरेका हुन् ।

निर्देशक दीपेन्द्र लामाले आपसी समझदारीबाटै खगेन्द्रले चलचित्र छाडेको बताए । ‘गोपी’ को स्क्रिप्टमा सबैभन्दा ठूलो योगदान उहाँको पनि छ । केही कारणले गर्दा खगेन्द्र जीले चलचित्र गर्न सक्नुभएन’, उनले भने ।

निर्देशक लामाका अनुसार, खगेन्द्र र वर्षाको ठाउँमा विपिन र वर्षा राउत फिट हुने भएकाले अनुबन्ध गरिएको हो । पत्रकार सम्मेलनमा विपिनले आफूलाई स्क्रिप्ट चित्त बुझेका कारण ‘गोपी’ गर्न तयार भएको बताए ।

उनले भने, ‘म सधैं चलचित्र गर्नु अगाडि १/२ महिना समय दिन्छु । स्क्रिप्ट राम्रोसँग अध्ययन गर्छु । क्यारेक्टरमा फिट हुन्छु भन्ने लागेपछि मात्र मैले चलचित्र गर्ने हो । ‘गोपी’ को हकमा चाहिँ मैले २४ घण्टामा नै स्क्रिप्ट पढेर साइन गरेको हुँ । स्क्रिप्ट मन परेपछि चलचित्र छाड्नु हुन्न भन्ने लाग्यो अनि काम गर्न राजी भएँ ।’

भाद्र १ गतेबाट फ्लोरमा जाने तयारी भएपनि विपिनले एक हप्ता वर्कसपका लागि समय मागेका छन् । अभिनेत्री वर्षा राउतले आफूलाई स्क्रिप्ट औधि मन परेका कारण चलचित्र गर्न राजी भएको बताइन् ।

उनले भनिन्, ‘मैले पूरा स्क्रिप्ट पढेँ निकै मनपर्‍यो । मलाई स्क्रिप्टसँगै टिम पनि राम्रो लाग्यो । राम्रो चलचित्रमा काम गर्ने अवसर मैले गुमाउन चाहिनँ ।’ यसअघि ‘मेरो पैसा खोई ?’ मा वर्षा भित्रिएपछि वर्षा सिवाकोटीले चलचित्रबाट हात झिकेकी थिइन् ।

अभिनेत्री सिवाकोटीले चलचित्रबाट बाहिरिएपछि फेसबुकमा स्टाटस लेख्दै ‘साइन गर्दा एउटा चरित्र र पछि अर्कै’ भएपछि बाहिरिएको बताएकी थिइन् । यो कुराको स्क्रिप्ट राईटर सामिप्यराज तिमल्सिनाले खण्डन गरे । ‘हामीले उनलाई सुनाएको भन्दा २/४ सिन झन् राम्रो भएर आएको छ । तर उनले चलचित्रको पूरा स्क्रिप्ट नै पढिनन् र रोल चेन्ज भएछ भन्दै उनी ‘जय शम्भु’ को प्रचारलाई हिँडिन्’, उनले भने ।

राईटर तिमल्सिनाले सिवाकोटीको क्यारेक्टर पहिला सुनाएको भन्दा स्क्रिप्टमा थप उत्कृष्ट बनेर आएको बताए । यो कुरामा अभिनेत्री राउतले पनि सहमती जनाइन् । यस्तै, अभिनेत्री सुरक्षा पन्तले वर्षाको व्यबहार सही नभएको तर्क गरिन् ।


उनी भन्छिन्, ‘जब कलाकार वर्कसपमा बसेर स्क्रिप्टमा परिवर्तन ल्याउने कोशिश नै गर्दैन तब कम्प्लेन गर्नुको अर्थ हुन्छ जस्तो मलाई लाग्दैन । कथा मनपर्‍यो भने हामी जस्तो पनि चलचित्र गर्छौं । वर्षा जीलाई चित्त नबुझेको थियो भने लजिकली जस्टिफाइ गरेको भए हेल्दी रिलेसनसिप पनि हुन्थ्यो भन्ने मलाई लाग्छ ।’

कार्यकारी निर्माता श्रीधर पौडेलले आफूले स्क्रिप्ट र निर्देशकमाथि विश्वास गरेर लगानी गर्न तयार भएको बताए । ‘कलाकार परिवर्तन हुनु ठूलो कुरा होइन र मैले यो कलाकार भए मात्र लगानी गर्छु भनेको छैन’ उनले भने, ‘स्क्रिप्ट र निर्देशकमाथि मलाई पूरा विश्वास छ ।’

आरोही केसी निर्माता रहेको ‘गोपी’ चलचित्रका गीतमा न्ह्यू बज्राचार्य, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहने छ भने विप्लव प्रतीक र बुद्धिसागरले गीत लेखेका छन् ।

चैत १५ गते रिलिज गर्ने तयारी भइरहेको यस चलचित्रमा निर्देशक दीपेन्द्रको कथा, सामिप्य तिमल्सिनाको पटकथा, शैलेन्द्र डि कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu