मह जोडीको ‘दाल भात तरकारी’ मा पुष्पलदेखि निरुतासम्म



सुपरहिट चलचित्र शत्रु गते टिमले नयाँ कमेडी चलचित्र ‘दाल भात तरकारी’ निर्माण गर्ने भएको छ । मह संचारको ब्यानरमा किरण केसी प्रस्तुतकर्ता रहने फिल्मको बुधवार राजधानीमा एक कार्यक्रमका बीच औपचारिक निर्माण घोषणा गरिएको छ ।

चलचित्रलाई निर्माता तथा कलाकार किरण केसीका सुपुत्र सुदन केसीले निर्देशन गर्नेछन् । यसअघि उनले दुई हलिउड चलचित्रमा सह-निर्देशकको रुपमा काम गरिसकेका छन् । उनले, नेपाली चलचित्र निर्देशनको भने पहिलो पटक अनुभव बटुल्न लागेका हुन् ।

मल्टिस्टारर ‘दाल भात तरकारी’ मा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, पुष्पल खड्का, स्वस्तिमा खड्का, वर्षा राउत, बसुन्धारा भुषाललगायतका कलाकारहरुको अभिनय रहनेछ । मंसिर पहिलो साताबाट चलचित्रको छायांकन सुरु हुँदैछ ।

वर्ष २०७६ को बैशाख १३ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको चलचित्रले हरेक मानिसले दाल भात तरकारी खानका लागि गर्ने संघर्षको कथा बोल्छ । चलचित्रको कथा हरिवंश आचार्यले लेखेका हुन् । स्क्रिन प्ले र डाइलग पनि उनकै हो । शम्भुजित बाँस्कोटाको संगीत रहने चलचित्रका गीत हरिवंश आफैंले लेखेका छन् ।

चलचित्रमा पुष्पलको जोडी स्वस्तिमासँग बाँधिएको छ भने हरिवंश र निरुतालाई जोडीको रुपमा देख्न सकिनेछ । विल्सन विक्रम राई, राजाराम पौडेल, यमन श्रेष्ठ, शिवहरी पौडेल, किरण केसीलगायतका कलाकारहरुको पनि चलचित्रमा अभिनय रहने बताइएको छ ।

निर्माता केसीले ‘शत्रु गते’ मा भएका कमी कमजोरी ‘दाल भात तरकारी’ मा नदोहोर्‍याउने प्रतिबद्धता व्यक्त गरे । उनी भन्छन्, ‘शत्रु गते’ को सफलतापछि हामीलाई थप जिम्मेवारी थपिएको छ । दर्शकलाई एउटा स्वादिलो खाना पस्कन हामी कुनै कम्प्रमाइज गर्ने छैनौं ।’

कलाकार हरिवंश आचार्यले किरण केसीको छोरा भएका कारण निर्देशनको जिम्मेवारी नदिएको बताए । ‘सुदन प्रतिभावान छ । उसले राम्रो काम गर्न सक्छ भन्ने लागेर निर्देशनको जिम्मेवारी दिएका हौं ‘, उनले भने । उनले, दाल भात तरकारी जस्तै हरेक नेपालीलाई मन पर्ने चलचित्र बनाउने विश्वास दिलाए ।

मित्र डि गुरुङको सम्पादन रहने चलचित्रलाई दिर्घ गुरुङले खिच्नेछन् । कविराज गहतराजको कोरियोग्राफी रहने ‘दाल भात तरकारी’ मा प्रमिला आचार्य, यमन श्रेष्ठ, नरेन्द्र कंशाकार, शिवहरी पौडेल, राजाराम पौडेल, दिर्घ गुरुङ, अनुराग कुँवर, विल्सन विक्रम राई, दीपेन्द्र खनियाँ र सुमित मैनाली निर्मातामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu