आज शुक्रवारबाट चार चलचित्रले देशव्यापी प्रदर्शन सुरु गरेका छन् । दुई फरक स्वादका चलचित्र ‘मिस्टर भर्जिन’, ‘ब्ल्याक’, ‘जय शम्भु’ र ‘१२ मासे’ फ्राईडे रिलिज अन्तर्गत यस हप्ताका लागि प्रदर्शनमा आएका हुन् ।
तीन भर्जिन युवाको एक रातको कथा बोल्ने ‘मिस्टर भर्जिन’ मा गौरव पहारी, विजय बराल, कमलमणी नेपाल, मरिश्का पोखरेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ । विशारद बस्नेत निर्देशित यो चलचित्रले सेन्सर बोर्डबाट ‘एडल्ट सर्टिफिकेट’ पाएको छ ।
अभिनेत्री आँचल शर्मा पहिलो पटक अभिनेता पल शाह नभएको फिल्ममार्फत् पर्दामा देखिएकी छन् । प्रदिप श्रेष्ठ निर्देशित ‘ब्ल्याक’ मा उनको जोडी अभिनेता आकाश श्रेष्ठसँग बाँधिएको छ । यस चलचित्रले यी दुईको प्रेममा आउने उतारचढावको कथा वाचन गरेको छ । आयुष रिजाल, सुशिल क्षेत्री, धिरेन शाक्यको पनि चलचित्रमा अभिनय छ ।
एक्सन प्याक्ड चलचित्र ‘जय शम्भु’ मार्फत् पहिलो पटक दुई ह्याण्डसम भिलेन पर्दामा देखिएका छन् । अभिनेता द्वय प्रशान्त ताम्राकार र अनुप विक्रम शाहीको यसमा प्रमुख भूमिका छ । रुपेश तामाङ निर्देशित चलचित्रमा अभिनेत्री वर्षा सिवाकोटीका लागि दुई अभिनेताबीचको द्वन्द्व देख्न सकिन्छ ।
यस्तै, लय संग्रौला निर्देशित कमेडी चलचित्र ‘१२ मासे’ मा अभिनेता जयकिशन बस्नेत प्रमुख भूमिकामा छन् । बिना प्रचार रिलिज भएको यसले जुवा तासमा हल्लिने युवा तथा बृद्धहरुको कथालाई उठाइएको छ । प्रदीप पाठक, पुजना प्रधान, मरिचमान श्रेष्ठ, पुरन थापालगायतका कलाकारहरुको पनि उक्त चलचित्रमा अभिनय छ ।