असोज ५ गतेबाट नेपालमा प्रदर्शन हुन लागेको चलचित्र ‘बाँध मायाले’ को पहिलो वल्र्ड प्रिमियर गरिएको छ । यही अगस्ट १८ तारिखमा अष्ट्रेलियाको इभेन्ट सिनेमा वरउडमा भएको प्रिमियर शोमा नायक आर्यन अधिकारी सहभागी भएका थिए ।
चलचित्रका सह निर्माता महेन्द्र अधिकारीले त्यहाँको प्रिमियर शो गर्ने व्यवस्था मिलाएका हुन् । आइतबार पनि अष्ट्रेलियाको हर्टसभिलमा ‘बाँध मायाले’ को शो राखिएको छ ।
‘पहिलो प्रिमियरमा सहभागीले चलचित्रलाई मन पराउनु भयो’, पहिलो वल्र्ड प्रिमियर बारे आर्यनले भने, ‘यहाँको प्रतिक्रियाले हामीलाई हौसला मिलेको छ ।’
अष्ट्रेलिया पछि यही अगस्ट २८ तारिखमा ‘बाँध मायाले’ को शो अमेरिकास्थित सान्फ्रान्सिस्कोमा हुँदैछ । यस चलचित्रका निर्देशक सविर श्रेष्ठ हुन् ।
‘बाँध मायाले’ मा आर्यन अधिकारी र सृष्टि श्रेष्ठ मुख्य भूमिकामा प्रस्तुत भएका छन् । राजाराम पौडेल, रविन्द्र प्रताप सेन, विशाल चाम्लिङ र नव नायक किशोर खड्काको पनि उक्त चलचित्रमा अभिनय छ ।
रामहरी धिताल र बिभिषिका श्रेष्ठको संयुक्त निर्माण रहेको चलचित्रमा महेन्द्र अधिकारी र केदार धिताल सह निर्माताको रुपमा रहेका छन् ।