कात्तिक १६ गतेलाई प्रदर्र्शन मिति घोेषणा गर्दै चलचित्र ‘चङ्गा चेट’ को पहिलो गीत सार्वजनिक भएको छ । सोमवार राजधानीका एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘गोजीमा दाम छैन’ बोलको गीतमा राजनराज सिवाकोटी, मेलिना राई र ग्रिष्मा सिवाकोटीले स्वर भरेका छन् ।
राजनराज स्वयमको संगीत रहेको गीतको शब्द हरिहर तिमल्सिनाले लेखेका हुन् । प्रविन सिंहको कोरियोग्राफी रहेको गीतको भिडियोमा तीन जोडी फिचर्ड छन् । रियल झैं रिलमा पनि आयुष्मान र प्रियंकाको जोडी बाँधिएको छ ।
कलाकार रविन्द्र झासँग अभिनेत्री सुरक्षा पन्तको जोडी देख्न सकिन्छ भने कलाकार सन्दिप क्षेत्री र अभिनेत्री परमिता आरएल राणा जोडी छन् । गीतमार्फत् चलचित्रको कथा प्रस्ट्याइएको छ । पैसा नहुने मान्छेको कुनै काम नहुने कुरा गीतले बोल्छ ।
माधव वाग्ले र शर्मिला पाण्डे निर्मित यस चलचित्रलाई दीपेन्द्र के. खनालले निर्देशन गरेका हुन् । चलचित्र डार्क कमेडी रहेको निर्देशक खनालले बताए । उनी भन्छन्, ‘बनिरहेका कमेडी चलचित्रभन्दा ‘चङ्गा चेट’ केही फरक छ । हँसाउनकै खातिर कुनै पनि संवाद र दृश्य जर्बजस्ती राखिएको छैन ।’
उनका अनुसार, काठमाडौं बसेर संघर्ष गरिरहेका पात्रको कथा चलचित्रले बोल्नेछ । कार्यक्रममा चलचित्रका प्रमुख कलाकारले छायांकन बेलाको रमाइला घट्नाहरु सम्झिए । सन्दिप भन्छन्, ‘हामीलाई चलचित्रको सुटिङ कहिले सकियो थाहा नै भएन । जति हामीले सेटमा इजोय गर्यौं दर्शकले त्यो भन्दा धेरै आनन्द प्राप्त गर्नुहुन्छ ।’
चलचित्रको कथा प्रदीप भारद्वाजले लेखेका हुन् । यो चलचित्रमा अर्जुन पोखरेलको पनि संगीत छ । निरक कँडेलको छायांकन रहेको चलचित्रको सम्पादन दिर्घ खड्काले गरेका छन् ।
भिडियो :-