‘कथा काठमाण्डू’ निर्मातालाई बोर्डले भन्यो, ‘प्रोमो तत्काल हटाउनुस्’



असोज १२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘कथा काठमाण्डू’ को प्रोमो हटाउन चलचित्र विकास बोर्डले निर्माण टिमलाई पत्र काटेको छ । पत्रमा प्रोमोलाई अश्लिल भनिएको छ ।

बोर्ड अध्यक्ष निकिता पौडेलले पत्र काट्दै अश्लिल प्रोमो हटाउन निर्देशन दिएकी हुन् । प्रोमोले सामाजिक मर्यादामा खलल पुग्ने देखिएकाले यथाशिघ्र उक्त फिल्मको प्रोमो हटाई सोको लिखित जानकारी बोर्ड समक्ष पेश गर्न पत्रमा भनिएको छ ।

प्रोमो नहटाए फिल्म (निर्माण, वितरण तथा प्रदर्शन) नियमावली बमोजिम आवश्यक कारवाही हुने पत्रमा उल्लेख छ । निर्देशक संगीता श्रेष्ठले बोर्डले रिलिजको बेला अनावश्यक तनाब दिएको बताएकी छन् ।

बोर्डले काटेको पत्रको जवाफ आफूले दिइसकेको उनले बताइन् । मंगलवार अकास्मत पत्रकार सम्मेलन गर्दै उनले भनिन्, ‘बोर्डले पत्रमा उल्लेख गरेको यूट्युब लिंक हाम्रो प्रोमोको होइन । अरु च्यानलको लिंकलाई लिएर हामीलाई कारबाही गर्छु भन्नु कति उचित छ ?’

(चलचित्र विकास बोर्डले काटेको पत्र)

बोर्डले पत्रमा प्रोमोलाई अश्लिल भनेकोप्रति पनि उनले आपत्ति जनाइन् । ‘एउटा जिम्मेवार संस्थाले प्रोमोलाई अश्लिल भन्न मिल्छ ?’ उनी कड्किदै भन्छिन्, ‘आपत्तिजनक भनेको भए स्वभाविक हुने थियो । अश्लिल भन्न मिल्दैन ।’ उनले चलचित्र को कथा नै प्रोमो र गीतमा देखाएको बताइन् ।

‘श्रीमतीको इच्छा विपरित यदी श्रीमानले शारीरिक सम्बन्ध राख्छ भने त्यो बलात्कार हो । चलचित्र ले यही कथा बोल्छ । के एउटा मेकर्सले आफ्नो कथा भन्न पाउने अधिकार पनि छैन ?’ निर्देशक श्रेष्ठले बोर्डलाई प्रश्न गरिन् ।

बोर्डले पत्र काटेपछि अब चलचित्र रिलिज अन्यौलमा परेको छ । अहिले चलचित्र को टिम मोफसल प्रचारमा व्यस्त छ । बोर्डले पत्र काटेसँगै चलचित्र को प्रचारमा समेत असर परेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu