शुक्रवारबाट दर्शक र सिंगो फिल्म क्षेत्रले नै ठूलो आशा गरेका दुई चलचित्र ‘क्याप्टेन’ र ‘द ब्रेकअप’ एकसाथ प्रदर्शनमा आएका छन् । दीवाकर भट्टराई निर्देशित चलचित्र ‘क्याप्टेन’ मा अभिनेता अनमोल केसी नेपाली फुटबल टिमका कप्तान ईशान खड्काको भूमिकामा रहेका छन् । बाबुको सपना साकार पार्न हिँडेको मध्यम वर्गीय परिवारको ईशानले देशका लागि स्वर्ण पदक जित्ने यात्रामा के–कस्ता चुनौती सामना गर्नुपर्छ भन्ने फिल्मको मूल कथा हो ।
यसमा अनमोलको अपोजिटमा उपासना सिंह ठकुरी र प्रियंका एमभी छन् । धमाकेदार ट्रेलर र दुई गीत (रहर छ सँगै र कर्ली कर्ली कपाल) ले लोभलाग्दो हाइप निर्माण गरेको यस चलचित्रलाई चर्चित अभिनेता भुवन केसीले निर्माण गरेका छन् । चलचित्रको पटकथा सामिप्यराज तिमल्सिनाले तयार पारेका हुन् । फिल्ममा सुदिप बरालको छायांकन छ । सुनिल थापा, प्रशान्त ताम्राकार, विल्सन विक्रम राईलगायतको पनि यसमा अभिनय छ ।
अभिनेत्री निरुता सिंह र अभिनेता भुवन केसीले ‘कर्ली कर्ली कपाल’ बोलको गीतमा ठुम्का लगाएका छन् । यो चलचित्रले मल्टिप्लेक्सहरुमा राम्रो सोज हात पारेको छ । सिंगल स्कृन पनि पर्याप्य मिलेको छ । नेपालकै ठूलो र स्तरीय मल्टिप्लेक्स च्यानल क्यूएफएक्सले राजधानीका ५ स्टेशनमा चलचित्रलाई १६ सोज दिएको छ ।
यस्तै, निर्देशक हेमराज विसीको ‘द ब्रेकअप’ मा चकलेटी ब्वाई आशिरमान देशराज जोशी र नव-अभिनेत्री शिल्पा मास्के लिड रोलमा छन् । चलचित्र यी दुईको प्रेम र विछोडको वरिपरि मडारिएको छ । यसलाई नरेन्द्र मैनालीले छायांकन गरेका छन् । रुपक थापा, दीपक खतिवडा, रेनु राणा र निर्देशक बिसीले संयुक्त लगानीमा निर्माण गरेका चलचित्रलाई सुरेन्द्र पौडेलले सम्पादन गरेका हुन् ।
चलचित्रमा आशिर र शिल्पाका अलावा सरोज खनाल, रेनदास श्रेष्ठ, इच्छा कार्कीलगायतका कलाकारहरुको पनि अभिनय छ । यो चलचित्रले ‘क्याप्टेन’ भन्दा कम ‘सिंगल स्कृन’ पाए पनि पट्यारलाग्दो भने छैन । निर्माण टिम माउथ पब्लिसिटीले हल संख्या वृद्धि हुनेमा विश्वस्त छ । मल्टिप्लेक्सहरुमा भने औसत सोज पाएको छ । पहिलो दिन क्यूएफएक्सले राजधानीका ५ स्टेशनमा चलचित्रलाई १० सोजमा उपलब्ध गराएको छ ।