११ जना पत्रकारलाई अवार्ड



न्यू मिडिया एकेडेमी प्रालिको आयोजनामा शनिवार दोस्रो हेटौंडा जर्नालिज्म अवार्ड २०७६ सम्पन्न भएको छ । विभिन्न ११ विधामा मकवानपुरका ११ जना क्रियाशिल पत्रकारहरुलाई अवार्ड प्रदान गरिएको थियो ।

अवार्ड कार्यक्रमका बीच मकवानपुर जिल्लामा हाल सम्म नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको नेतृत्व गर्ने शाखाका पूर्व अध्यक्षलाई सम्मान समेत गरिएको थियो । सम्मान हुनेमा पूर्व अध्यक्ष नवराज शर्मा, कौशल पाण्डे, प्रताप विष्ठ, राममणि दाहाल, भानुभक्त आचार्य र महेन्द्र श्रेष्ठ रहेका थिए । कार्यक्रममा महेन्द्र श्रेष्ठ विशेष कारणले उपस्थित भएका थिएनन् ।

उनीहरुलाई आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले दोसल्ला ओढाएर सम्मानपत्रले सम्मान गरिएको थियो । अवार्ड कार्यक्रममा विभिन्न विधाहरु अन्र्तगत उत्कृष्ट खेलकुद पत्रकारिता वर्ष अवार्ड एभिन्युज टेलिभिजनका राजन दाहाल लाई प्रदान गरिएको थियो ।

त्यस्तै उत्कृष्ट चलचित्र पत्रकारिता वर्ष अवार्डमा नागरिक दैनिकका अशोक सुजन श्रेष्ठ, उत्कृष्ट आर्थिक पत्रकारिता वर्ष अवार्डमा साझाकुरा दैनिक र कारोबार दैनिकका केशव समपर्ण, उत्कृष्ट खोज पत्रकारिता वर्ष अवार्डमा अन्नपूर्ण पोष्ठ दैनिकका कृष्ण सारु मगर, उत्कृष्ट सम्पादक वर्ष अवार्डमा साझाकुरा दैनिकका सुवास विडारीलाई प्रदान गरिएको थियो ।

त्यसैगरी नव उदयमान पत्रकार वर्ष अवार्डमा रेडियो थाहा सञ्चारकी सृजना नेपाल, उत्कृष्ट अनलाईन पत्रकारिता वर्ष अवार्डमा प्रष्टखबर डटकमका सुनिल सिवाकोटी, उत्कृष्ट प्रस्तोता वर्ष अवार्डमा रेडियो थाहा सञ्चारका दर्शन क्षेत्री, उत्कृष्ट सामाजिक पत्रकारिता वर्ष अवार्डमा रेडियो मकवानपुर र प्रदेश दैनिकका गणेश अधिकारीलाई प्रदान गरिएको थियो ।

कार्यक्रममा उत्कृष्ट पूरुष पत्रकार वर्ष अवार्डमा कान्तिपुर टेलिभिजनका बालकृष्ण अधिकारी र उत्कृष्ट महिला पत्रकार वर्ष अवार्डमा टिम टेलिभिजनकी नानीमाया सापकोटालाई प्रदान गरिएको थियो । ९ विधाकालाई नगद पाँच हजार र उत्कृष्ट पूरुष पत्रकार वर्ष अवार्ड र उत्कृष्ट महिला पत्रकार वर्ष अवार्ड प्राप्त गर्नेलाई दश हजार नगद सहित अवार्ड प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि एवम् प्रदेश ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले कार्यक्रमलाई सम्बोधन गर्दै सबै सम्मानित हुने र अवार्ड प्राप्त गर्ने सबै पत्रकारहरुलाई बधाई तथा शुभकामना दिएका थिए ।

साङगेतिक कार्यक्रम सहित आयोजना गरिएको कार्यक्रममा अहिलेको चर्चित गायक प्रकाश सपुतले गलबन्दी गीत प्रस्तुत गरि सबैलाई झुमाएका थिए । उनलाई गायिका काजल गुरुङले साथ दिएकी थिइन । कार्यक्रममा हेटौंडाका कलाकारहरु सुनिता शर्मा लुइँटेल, कविराज हुमागाई, स्वस्तिका ढकाल, देवेन्द्र कार्की लगायतले आफ्नो प्रस्तुती दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu