काठमाडौं – आगामी माघ १ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘गोबर गणेश’को पोस्टरमा कलाकारहरू मरीचमान श्रेष्ठ (‘बल्छी धुर्बे’) र वर्षा सिवाकोटी लाई फरक शैलीमा प्रस्तुत गरिएको छ। वर्षा रिक्सा चलाइरहेकी छन् भने बल्छी धुर्बे सोही रिक्सामाथि बसेका छन्।
पोस्टरमा पात्रहरू नगरपालिकाको सरसफाइ कर्मचारी वा फोहोर मैला व्यवस्थापन सँग सम्बन्धित रहेको अनुमान गर्न सकिन्छ। रिक्सामा फोहोरका साथै फोहोर उठाउने डस्ट प्यान र बल्छीको गलामा लागेको सिठीले यही कुरा पुष्टि गर्छ। पृष्ठभूमिमा कीर्तिपुर सहरको झल्को दिने बाक्ला घरहरूको दृश्य छ।

टेलिभिजनमा आफ्नो प्रस्तुतिबाट लोकप्रिय बनेका मरीचमान श्रेष्ठ (बल्छी धुर्बे) ले नै यो चलचित्रको निर्देशन गरेका हुन्। छायाङ्कन कार्य सम्पन्न भइसकेको ‘गोबर गणेश’ हाल पोस्ट प्रोडक्सन को अन्तिम चरणमा रहेको छ।
यो चलचित्रमा मरीचमान श्रेष्ठ र वर्षा सिवाकोटी बाहेक विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछाने लगायतका कलाकारहरूको अभिनय रहेको छ।




