अभिनेत्री सुरक्षा पन्त र अभिनेता स्वरुप पुरुष ढकालले अभिनयमा डेब्यू गरेको ‘सुस्केरा’ निर्माण पूरा भएको तीन वर्षपछि प्रदर्शनका आउन तयार भएको छ । निर्माण टिम र वितरकबीच फिल्मलाई आउँदो पौष १८ गतेबाट चलचित्र प्रदर्शनमा आउने सहमति भएको छ । यो चलचित्रका निर्देशक साम्तेन भुटिया हुन् । उनले यसअघि ‘त्यान्द्रो’ निर्देशन गरेका थिए ।

प्रदर्शनमा ढिलाई भए पनि चलचित्रले उठाएको विषयवस्तुमा असर नपर्ने निर्देशक भुटिया बताउँछन् । चलचित्र प्रेमकथामा निर्माण भएको उनले बताए । तर, बनिरहेका लभस्टोरी चलचित्रभन्दा ‘सुस्केरा’ अलग रहेको उनको दाबी छ । चलचित्रमा सुरक्षा र स्वरूपका अलावा मिथिला शर्मा, शिशिर बाङ्देल, सिद्धार्थ उपाध्यायको पनि मुख्य भूमिका छ ।
चलचित्रलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । अभिनेता ढकालकै संगीत रहेको चलचित्रमा पार्श्व संगीत सुजिल कर्माचार्यको छ । एसपी ढकाल र सिके ढकालको निर्माण रहेको चलचित्र प्रेम प्राप्तिको लागि युवा युवतीले गर्ने संघर्षको कथामा आधारित छ । यो चलचित्रलाई लिएर अभिनेता स्वरुप निकै उत्साहित छन् । दर्शकलाई चलचित्र मनपर्ने उनको विश्वास छ ।




