चलचित्र निर्माताले लेखिन् बालेनलाई खुला पत्र, यौनकर्मी महिलाका अधिकार मागिन्



काठमाडौं – सीमान्तकृत यौनकर्मी महिलाहरूको मानवअधिकार र न्यायको सुनिश्चितताको माग गर्दै भावी प्रधानमन्त्रीका रूपमा चर्चामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई एक खुला पत्र लेखिएको छ। विगत दुई दशकदेखि यौनकर्मी महिलाको स्वास्थ्य र अधिकारका क्षेत्रमा कार्यरत संस्था ‘आस्था-फेथ’ले उनीहरूको भोगाइमा आधारित चलचित्र ‘लालिमा’को सन्दर्भ जोड्दै नेतृत्वको ध्यानाकर्षण गराएको हो।

संस्थाकी कार्यकारी प्रमुख तथा चलचित्रकी निर्माता रिना लामाद्वारा सार्वजनिक गरिएको उक्त पत्रमा हजारौँ यौनकर्मी महिलाले दैनिक रूपमा भोग्दै आएका शारीरिक तथा मानसिक हिंसा, दुर्व्यवहार र सामाजिक बहिष्करणको विषयलाई गम्भीरतापूर्वक उठाइएको छ। तीन हजारभन्दा बढी यौनकर्मी महिलाका वास्तविक अनुभव र व्यथालाई समेटेर निर्माण गरिएको चलचित्र ‘लालिमा’ फागुन २९ गतेदेखि प्रदर्शनमा छ। कार्यकारी प्रमुख लामाका अनुसार यो चलचित्र केवल एउटा मनोरञ्जनात्मक कथा मात्र नभएर राज्यबाट उपेक्षित हजारौँ महिलाहरूको चीत्कार र उनीहरूको अधिकार हननको यथार्थ बोल्ने सामूहिक दस्ताबेज हो।

पत्रमार्फत राज्यको नीति निर्माण तहमा यौनकर्मीका मुद्दाले उचित स्थान नपाएकोतर्फ गहिरो चिन्ता व्यक्त गरिएको छ। नीतिगत बहसमा विरलै उठ्ने यस्ता विषयलाई उठाइहाले पनि प्रायः अपराध र नैतिकताको साँघुरो चस्माले मात्र हेरिने र गलत रूपमा प्रस्तुत गरिने यथार्थलाई पत्रमा उजागर गरिएको छ। यही विभेदपूर्ण दृष्टिकोणलाई परिवर्तन गर्न र ती महिलाहरूको आधारभूत मानवअधिकार सुनिश्चित गर्नका लागि लामाले नेता शाहलाई खुला संवादको आह्वान समेत गरेकी छन्।

यौनकर्मीहरूलाई पनि समान मानवको दर्जा दिँदै उनीहरूको सुरक्षा, सम्मान र जीवनस्तर उत्थानका खातिर तत्काल नीतिगत सुधार गर्नुपर्नेमा पत्रले जोड दिएको छ। साँच्चिकै समावेशी र बलियो राष्ट्र निर्माणका लागि समाजको पिँधमा रहेका सीमान्तकृत नागरिकको मर्यादा र अधिकारको संरक्षण अपरिहार्य रहेको लामाको भनाइ छ। यस खुला पत्र र ‘लालिमा’ चलचित्रले समाजमा व्याप्त कुण्ठा र विभेदलाई चिर्दै मानवअधिकार तथा सामाजिक सुधारको क्षेत्रमा एउटा नयाँ र अर्थपूर्ण बहसको थालनी गर्ने अपेक्षा संस्थाले राखेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu