विकासराज आचार्य निर्देशित सुपरहिट चलचित्र ‘नाईं नभन्नू ल ५’ बाट डेब्यू गरेका अभिनेता अभिषेक नेपाल अभिनीत दोस्रो चलचित्र ‘१२ सत्ताइस’ को कमेडीले भरिएको ट्रेलर सार्वजनिक भएको छ । ‘पैसा कमाउन १२ सत्ताइस गर्नुपर्छ’ भन्ने सिद्धान्त बोकेका तीन बेरोजगार पात्रको कथामा चलचित्र आधारित छ ।
चलचित्रलाई जोन योञ्जनले निर्देशन गरेका हुन् । चलचित्रको कथा पनि उनी स्वयंले लेखेका हुन् । चलचित्रमा अभिनेता नेपालसँगै समिर श्रेष्ठ, काजी राना, अस्मिता लामिछाने, सम्राट थापा, विना कार्की, अस्मिता खनाल, अभोन राजलगायतका कलाकारहरुको अभिनय छ । रेनु राना, दिपक खतिवडा र रुपक थापाको लगानीमा चलचित्र बनेको हो ।

आउँदो मंसिर २७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रलाई उत्कृष्ट बनाउन कुनै कसर नछाडेको निर्देशक योञ्जन बताउँछन् । बुधबार राजधानीमा आयोजित चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा उनले भने, ‘उत्कृष्ट फिल्म बनाउन स्टारकास्ट चाहिन्छ भन्ने छैन । कथा र पात्र सबल भएमा चलचित्र राम्रो बन्छ । ‘१२ सत्ताइस’ ले दर्शकको मन जित्नेमा ढुक्क छौं ।’
ह्याप्पी प्ल्यानेट फिल्मस र कमेरो फिल्म स्क्रिनको संयुक्त ब्यानरमा बनेको चलचित्रको सह-निर्माता गौतम शाह रहेका छन् । चलचित्रमा दीपक आर्जेको संगीत, श्रीधर पौडेलको पोस्टर फोटोग्राफी, कृष्ण भण्डारीको सम्पादन र अनिश स्यांगदेनको छायांकन छ । अभिनेता अभिषेक नेपालले ‘१२ सत्ताइस’ राम्रो बनेको बताउँदै दर्शकलाई एकपटक हेर्न आग्रह गरे ।
ट्रेलर हेर्नुहोस् :-




