दीपकराज गिरी र दीपाश्री निरौलाको समुहले बनाएको दीपेन्द्र लामा निर्देशित फिल्म ‘छ माया छपक्कै’ ले शुक्रबारबाट पाँचौ हप्तामा प्रदर्शन थाल्दैछ । यसबीच, यो चलचित्र यस वर्षको बैशाखदेखि कात्तिक तेस्रो सातासम्म प्रदर्शनमा आएका चलचित्रमध्ये सबैभन्दा ठूलो कमाई गर्न सफल भएको कलाकार तथा निर्माता दीपकराज गिरीले दाबी गरेका छन् ।
उनले बिहीबार फेसबुकमा एक स्टाटस लेख्दै चलचित्र यो वर्षको सबैभन्दा ठूलो ग्रसर साबित भएकोमा खुसी व्यक्त गरे । तर, उनले चलचित्रको कलेक्सन खुलाएका छैनन् । यो चलचित्रको लाइफटाइम कलेक्सन १५ करोडको आसपास हुने अनुमान गरिएको छ । चलचित्र अझै दुई दर्जन बढी सिंगल थिएटरमा प्रदर्शनरत छ । भने, मल्टीप्लेक्सहरुमा पनि राम्रो सोज पाइरहेको छ ।

रोहित अधिकारी निर्मित ‘छ माया छपक्कै’ ले प्रदर्शनको सुरुवाती दिनमा मल्टीप्लेक्समा न्यून सोज पाएको थियो । बलिउडको ठूलो चलचित्र ‘वार’ का कारण फिल्मले अपेक्षाअनुसार सोज पाउन सकेकोे थिएन । तर, ‘वर्ड अफ माउथ’ बलियो भएपछि यो चलचित्र ‘वार’ का लागि नै थ्रेट बनेको थियो । समीक्षकबाट राम्रो तारिफ बटुलेको चलचित्रमा राजनीतिक पृष्ठभूमिमा प्रेम बुनिएको छ ।
दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी, सुपुष्पा भट्टलगायतका कलाकारहरुको अभिनय रहेको ‘छ माया छपक्कै’ बाट आर्जन भएको केही रकम सामाजिक कार्यमा लगाउने दीपकराजले घोषणा गरेका छन् । उनले फेसबुकमार्फत् विदेशी चलचित्रलाई कोटा लगाउने सञ्चारमन्त्रीको उद्घोष स्वागतयोग्य रहेको पनि बताएका छन् ।




