‘सरौतो’ मा सुमीको यस्तो भूमिका



चर्चित छाँयाकार हरि हुमागाईंको डेब्यू निर्देशित चलचित्र ‘सरौतो’ आउँदो मंसिर १३ बाट प्रदर्शनमा आउँदैछ । यसमा अभिनेत्री सुमी मोक्तान केन्द्रिय भूमिकामा छिन् । फिल्मको मूलकथा नै उनको वरिपरि घुमेको छ । चलचित्रमा उनलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ । चलचित्रको ट्रेलरमा उनको एक्सनको निकै तारिफ भएको छ । धेरैले उनलाई एक्सनमा सम्भावना बोकेको अभिनेत्रीको रुपमा हेरेका छन् ।

तर, चलचित्रमा उनले संवाद बोलेकी छैनन् । ‘सरौतो’ मा उनले बोल्न नसक्ने अपाङ्गता भएकी युवतीको भूमिका निभाएकी छन् । सानैमा कसैले घाँटीमा चक्कु प्रहार गरेपछि उनको बोली गुम्छ । र, पिता (विजय लामा) को पनि हत्या हुन्छ । ठूलो भएपछि सुमीले त्यसको बदला कसरी लिन्छिन् भन्ने कथामा चलचि आधारित छ । ट्रेलरबाट पनि चलचित्रको कथा प्रस्ट्याउन खोजिएको छ ।


अभिनेत्री सुमीले यसअघि केही चलचित्रमा केमियो रोल गरेपनि लिड रोलमा अभिनय गर्न पाएकी थिइनन् । सोलो अभिनेत्रीको रुपमा उनले अभिनय गरेको ‘सरौतो’ पहिलो चलचित्र हो । तर, डेब्यू फिल्ममा नै उनले चुनौतीपूर्ण भूमिका निभाएकी छन् । उनले यो चलचित्रमा हातको इशारा र शारीरिक हाउभाउको माध्यमबाट संवाद बोलेकी छन् । अर्थात्, सांकेतिक भाषामा संवाद बोलेकी छन् ।

चलचित्रमा निभाएको चरित्रलाई जीवन्तता दिन उनले लामो समय एक्सन र सांकेतिक भाषा सिकेको बताइएको छ । अब, उनले चलचित्रका लागि गरेको मेहेनत पर्दामा कति देखिएको छ ? त्यसका लागि अझै दुई हप्ता प्रतिक्षा गर्नुपर्ने हुन्छ । चलचित्रमा सुमीका अलावा सन्नी सिंह, विजय लामा, लियो ट्यांक, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्कीलगायतको अभिनय छ ।

बिराञ्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको चलचित्रमा राघव कृष्ण गौतमको लेखन छ । उत्तम हुमागाईंको छायांकन, निमेष श्रेष्ठको सम्पादन र शंकर महर्जनको एक्सन रहेको चलचित्रमा राजनराज शिवाकोटी, पुष्पन प्रधान, कमल खत्रीको संगीत छ । यो चलचित्रपछि करिअर फर्किएर हेर्नु नपर्नेमा सुमी आशावादी छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu