मनछुने लभस्टोरी चलचित्र पस्कन सिपालु मानिने निर्देशक सुदर्शन थापा अहिले एकसाथ दुई चलचित्रमा काम गरिरहेका छन् । ‘सम्हालिन्छ कहिले मन’ को धमाधम सम्पादन कार्य भैरहेको छ । भने, डेढ महिनादेखि ‘म यस्तो गीत गाउँछु २’ को छायांकन चलिरहेको छ । फागुन २३ गते रिलिज हुने यो चलचित्रमा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा प्रमुख भूमिकामा छन् ।


यसबीच, निर्माण टिमले सात दिन लगाएर अहिलेका चर्चित संगीतकार अर्जुन पोखरेलले तयार पारेको ‘तिम्रो घरको वरिपरी’ बोल गीत खिचेर भ्याएको छ । नेपाल र भारतको सिमानामा पर्ने सन्दकपुर गाउँ, पानीटारको चियाबारी, इलाम, पाँचथरलगायतका स्थानमा खिचिएको गीतमा पल र पूजा रोमान्टिक अवतारमा देखिएका छन् । जुन तस्विर ठूलोपर्दालाई प्राप्त भएको छ ।


गीतको भिडियोमा ५ सय कोरस प्रयोग गरिएको छ । सम्भवतः नेपाली चलचित्रको गीतमा यो संख्यामा कोरस प्रयोग गरिएको पहिलो पटक हो । गीतमा सोनम तोप्देन र अस्मिता अधिकारीको स्वर छ । भने, रामजी लामिछानेको कोरियोग्राफी र सौरभ लामाको छायांकन छ । निर्देशक सुदर्शन थापाको चलचित्रमा गीतलाई निकै सुन्दर ढंगले दृश्यांकन गर्ने गरिन्छ ।


यो गीतमा पनि कुनै सम्झौता नगरिएको निर्देशक थापाको दाबी छ । उनले गीतले मागेको लोकेशनमा भिडियो खिचिएको बताए । चलचित्रको पहिलो प्रचार सामाग्री स्वरुप यो गीत सार्वजनिक गर्ने तयारीमा निर्माण टिम छ । शिवम अधिकारीको लेखन रहेको चलचित्रमा दिनेश डीसी, हरिहर शर्मालगायतका कलाकारको पनि अभिनय छ । यो चलचित्र ‘म यस्तो गीत गाउँछु’ को सिक्वेल हो ।




