नेपाली चलचित्रकी मौसट डिमान्डेड अभिनेत्री साम्राज्ञी आरएल शाह सोमबारबाट २४ वर्ष पूरा भएर २५ वर्षमा लागेकी छन् । अभिनेता अनमोल केसीको प्रमुख भूमिका रहेको चलचित्र ‘ड्रिम्स’ करिअर सुरु गरेकी उनी केही वर्षयता ‘नम्बर वान नायिका’ को उपाधिमा रमाइरहेकी छन् । उनी पछिल्लो पटक अशोक शर्मा निर्देशित चलचित्र ‘रातो टीका निधारमा’ मा देखिएकी थिइन् ।
चलचित्रमा प्रवेश गरेको छोटो समयमा लोभलाग्दो स्टारडम बनाएकी साम्राज्ञीको ‘ड्रिम्स’ र ‘ए मेरो हजुर २’ बक्सअफिसमा सर्वाधिक सफल चलचित्र मानिन्छन् । यसपछि उनले गरेका कुनै चलचित्रले निर्माताको खल्ती भर्न सकेका छैनन् । प्रायः विवादमा परिरहने उनी गएको केही वर्षदेखि नेपाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणाका छोरा देवांश राणाको प्रेममा छिन् ।

वि.स. २०५२ साल मंसिर २ गते बुबा महेशविक्रम शाह र आमा नेहा राज्यलक्ष्मी शाहको कोखबाट जन्मिएकी साम्राज्ञी अहिलेकी सबैभन्दा डिमान्डेड र महँगी अभिनेत्री हुन् । एकपछि अर्को चलचित्र बक्सअफिसमा असफल हुँदा पनि न उनको माग घटेको छ न त पारिश्रमिक नै । उनले एक चलचित्रका लागि १६ लाख बुझ्दै आएकी छन् । मेकर पनि उनलाई यो रकम तिर्न सोच्दैनन् ।
‘ड्रिम्स’ मा काम गरेपछि एकाएक लाइमलाइटमा आएकी साम्राज्ञीले ‘ए मेरो हजुर २’ मा सलिनमान बनियाँ, ‘तिमीसँग’ मा आकाश श्रेष्ठ, ‘कायरा’ मा आर्यन सिग्देल, ‘मारुनी’ मा पुष्प खड्का र ‘रातो टीका निधारमा’ मा अंकित खड्कासँग काम गरिसकेकी छन् । उनी अहिलेसम्म कुनै अभिनेतासँग दोहोर्याएर काम नगर्ने अभिनेत्रीमा पर्छिन् । सबै चलचित्रमा उनको जोडी फरक-फरक छन् ।
पछिल्ला दुई चलचित्र ‘मारुनी’ र ‘रातो टीका निधारमा’ को असफलताले हच्किएकी उनी चाँडै अभिनेता प्रदीप खड्कासँग अनस्क्रिन रोमान्स गर्दैछिन् । हेमराज विसीले निर्देशन गर्न लागेको चलचित्रमा पहिलो पटक दुईको जोडी बाँधिन लागेको हो । अब, साम्राज्ञी योभन्दा अगाडि कुनै नयाँ चलचित्र साइन गर्ने मनस्थितिमा छैनन् । यो चलचित्रबाट उनले निकै ठूलो आश बोकेकी छन् ।




