
काठमाडौं – लामो समयको अन्तरालपछि दिग्गज निर्देशक तथा कथाकार तुलसी घिमिरेले नेपाली रजतपटमा आफ्नो नयाँ कथानक कोसेली ‘पहाड’ लिएर आउँदैछन्। आगामी २०८३ सालको वैशाख १ गते अर्थात् नयाँ वर्षको दिन प्रदर्शनको तयारीमा रहेको यस चलचित्रको पहिलो गीत ‘मोहनी लगाउने’ सार्वजनिक गरिएको छ।
सार्वजनिक गीतको भिडियोमा नवअभिनेत्री पञ्चमी घिमिरे र अरुण क्षेत्रीलाई मुख्य रूपमा फिचर गरिएको छ। निर्देशक घिमिरे स्वयंको शब्द रचना रहेको यस गीतमा वरिष्ठ सङ्गीतकार रञ्जित सिंह गजमेरले सङ्गीत भरेका छन्। गीतलाई भारती घिमिरे, साकार आप्टे, मदनकृष्ण श्रेष्ठ र अश्मिता अधिकारीको सुमधुर स्वरले सजाएको छ भने अभिनेता विपिन कार्कीको आकर्षक र्यापले यसलाई झनै पृथक् बनाएको छ। नृत्यप्रधान र निकै मिठासपूर्ण लाग्ने यस गीतको भिडियोलाई कविराज गहतराजले मनमोहक शैलीमा कोरियोग्राफी गरेका छन्।
युवा जनशक्ति विदेश पलायन हुँदा रित्तिँदै गएका पहाडी गाउँहरू र त्यसले उब्जाएको सामाजिक तथा आर्थिक सङ्कटलाई मुख्य विषयवस्तु बनाइएको यस चलचित्रमा ग्रामीण सौन्दर्य र गाउँकै महत्वलाई उजागर गरिएको छ। कार्यक्रममा बोल्दै निर्देशक घिमिरेले यो गम्भीर विषयलाई मनोरञ्जनको माध्यमबाट आम दर्शकसम्म पुर्याउन चलचित्र निर्माण गरेको बताए। सोही अवसरमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले नेपाली चलचित्र उद्योगमा घिमिरे परिवारको निरन्तर समर्पण र योगदानको उच्च प्रशंसा गर्दै चलचित्रको सफलताको शुभकामना व्यक्त गरेका थिए।
यस चलचित्रमार्फत निर्देशक घिमिरेले आफ्नी कान्छी छोरी पञ्चमीलाई अभिनेत्रीका रूपमा डेब्यु गराएका छन् भने जेठी छोरी भावना घिमिरेले प्रोडक्सन डिजाइनरको गहन जिम्मेवारी सम्हालेकी छिन्। भाग्यरत्न फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको ‘पहाड’मा विपिन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, शिव श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ र उमा गिरीलगायतका स्थापित तथा नवोदित कलाकारहरूको सशक्त अभिनय रहनेछ। विशेषतः विगतका सफल चलचित्रहरूमा काम गरिसकेका मदनकृष्ण श्रेष्ठ, शिव श्रेष्ठ र सुनिल थापाजस्ता दिग्गज अनुहारहरूको घिमिरेसँगको सहकार्यले दर्शकमा थप उत्साह जगाएको छ।
उत्तम रसाइली प्रस्तुतकर्ता रहेको यस चलचित्रको निर्माण सुरेन्द्र लामा थिङ, ओजस्वी केसी, रिम्पोछे लामा थिङ, दमन्ती रसाइली र उमा गिरीले संयुक्त रूपमा गरेका हुन्। क्रियटिभ निर्माताका रूपमा भारती घिमिरे रहेकी छिन्। भारतमा समेत थुप्रै प्रोजेक्ट गरिसकेका र घिमिरेसँग ‘अन्याय’, ‘कोसेली’ जस्ता सफल चलचित्रमा सहकार्य गरेका प्रमोद प्रधानले यस चलचित्रको छायांकन गरेका छन्। त्यस्तै, कुमार महर्जनको द्वन्द्व निर्देशन, मिङमा डी लेप्चाको थप कोरियोग्राफी तथा शङ्कर कोइराला र भारती घिमिरेको सम्पादन चलचित्रमा रहेको छ। यसलाई नेपालभर बैङ्कटेश इन्टरटेनमेन्ट र डायस्पोरामा सेभेन सिज इन्टरनेशनल फिल्म्सले वितरण गर्नेछन्।


