किन बिर्सियो बाबु र विल्सनलाई ?



बैकुण्ठराज पराजुली। बुधवार राजधानीमा चलचित्र ‘प्रोड्युसर’को निर्माण युनिटले पत्रकार भेटघाट कार्यक्रम आयोजना गर्‍यो । मोफसलमा बिहिवार देखी तथा शुक्रवार देखी अलनेपाल रिलिजको तयारीमा रहेको यो चलचित्रको बारेमा जानकारी दिन रिलिजको पूर्व सन्ध्यामा पत्रकार भेटघाट कार्यक्रको आयोजना गरिएको थियो ।

निर्धारित समय भन्दा केही ढिला सुरु भएको कार्यक्रममा निर्माता राजकुमार राई तथा अर्का निर्माता तथा प्रस्तुतकर्ता ज्योतिराज राई सहित कलाकार द्वय शयाम अर्याल र श्वेता भट्टराई पनि उपस्थित थिए । लेखक किरण माईकल तथा संगीतकार राहुल प्रधान पनि मञ्चमा देखिएका थिए ।

कार्यक्रम सुरु भयो, निर्माता तथा उपस्थित कलाकारले आफ्नो कुरा राखे । पत्रकारहरुको केहि जिज्ञासाको उत्तरसँगै कार्यक्रम सकियो । तर, उक्त कार्यक्रममा चलचित्र ‘प्रोड्युसर’मा मुख्य भुमिकामा रहेका अन्य दुई कलाकार बाबु बोगटी र विल्सनबिक्रम राईको न कसैले नाम लियो, न कसैले सम्झ्यो नै । कार्यक्रममा निर्माण युनिटले त नेपाली सिने उद्योगका यी दुई जल्दाबल्दा कलाकार बाबु र विल्सनको नाम लिएन लिएन, उद्घोषकले समेत बाबु र विल्सनको बारेमा कहाँ छन के छन बारे दुई शब्द बोलेनन् ।

wilson-baboo

कार्यक्रममा चलचित्रका निर्देशक जनकदिप पराजुली विदेशमा रहेको जानकारी उद्घोषकको मुखबाट पाए पनि चलचित्र भित्र समेटिएका अन्य कलाकारको बारेमा कसैबाट कुनै जानकारी नपाएपछी उपस्थित कतिपय जिल्ल बनेका थिए ।

निर्माण युनिटले जानकारी गराएर पनि बाबु र विल्सन कार्यक्रममा आएनन् वा उनीहरुलाई बोलाउँदै बोलाईएन त्यो आयोजकले नै जान्ने कुरा हो तर जुन चलचित्रको बारेमा ‘प्रेस भेटघाट’ आयोजना गरिएको छ, उक्त चलचित्रमा अभिनय गरेका कलाकारहरुलाई नै नसम्झिईनु भने राम्रो पक्ष होईन ।

निर्मातासँग सम्बन्ध राम्रो नभएर उनीहरु कार्यक्रममा आएनन् वा खबर गर्दा पनि कार्यव्यस्तताका कारण उपस्थित हुन सकेकन्, त्यो कुरा गौण छ । तर कार्यक्रममा कम्तिमा एकपटक पनि आफ्ना कलाकारहरुलाई नसम्झिनु निर्माण युनिटको कमजोरी हो । कार्यक्रम अवधीभर नव-नायक श्याम अर्यालको चर्चा हावी रह्यो ।

जुनसुकै चलचित्र तयार हुनको लागी पनि लगानी गर्ने मान्छे भएर मात्र पुग्दैन, त्यसमा उल्लेख कथालाई जीवन्तता दिन कलाकार नै चाहिन्छ । त्यसैले मुख्यतः कलाकारको उपस्थिती बिना कुनै पनि सिनेमा तयार हुन सक्दैन, त्यो केबल कपीको पानामा मात्र सिमित हुन्छ ।

नेपाली चलचित्रका बिभिन्न कार्यक्रमहरुमा निर्माताहरुले बिभिन्न दुष्मनी तथा पब्लिसिटीमा नसघाएको निहुँमा कलाकारहरुलाई नबोलाउनु तथा नसम्झिने गरेको कुरा नौलो भने होईन । पब्लिसिटीमा कलाकारले साथ दिने या नदिने कुरा निर्माता तथा निर्देशकसँगको सम्झौताको पाटो हो । तर, ठुलो मेहनत गरेर चलचित्र तयार पार्नमा महत्वपुर्ण भुमिका खेल्ने कलाकारको एकपटक पनि नाम नलिईनु भने दुःखद छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu