रेखा थापाको जन्मदिन : चिन्नुहोस् नजिकबाट



अभिनेत्री रेखा थापाले आज शुक्रवार आफ्नो जन्मदिन मनाउँदैछिन् । उनको जन्म मोरङमा पिता प्रेम थापा र माता सरस्वती थापाको कोखबाट भएको हो । उनी अभिनेत्रीसँगै निर्देशक, निर्माता, संगीतकार, गायिका पनि हुन् । पूर्व पति तथा निर्माता छविराज ओझाको चलचित्र ‘हिरो’ बाट अभिनय यात्राको थालनी गरेकी उनको पछिल्लो चलचित्र ‘मालिका’ हो ।

कुनै समय नेपाली चलचित्रकी उनी निर्विकल्प अभिनेत्री थिइन् । उनलाई लिएपछि चलचित्रले बक्सअफिसमा हिटको व्यापार गर्ने विश्वास निर्मातामा थियो । तर, पछिल्लो समय उनको स्टारडममा कमी आएको छ । नयाँ छिमलका अभिनेत्रीको प्रवेश बाक्लिएसँगै उनको एक दशक लामो राज लगभग तोडिएको छ । एक्सन भूमिकामा निकै रुचाइएकी उनले २ सयको आसपासमा चलचित्र गरेकी छन् । उनी अभिनीत प्रायः चलचित्र बक्सअफिसमा सफल छन् ।

पर्दामा निकै सफल रहेकी उनको वैवाहिक जीवन भने सुखद रहन सकेन । चलचित्र ‘हिरो’ खेले लगत्तै निर्माता ओझासँग उनले लगनगाँठो कसेकी थिइन् । तर, वैचारिक मतभेदका कारण करीब १२ वर्षपछि रेखा र छविले छुटिने निर्णय लिए । छविसँग छुटिएपछि उनले आफ्नो नाममा दर्ता भएको कम्पनी रेखा फिल्मस्बाट प्रत्येक वर्ष एउटा चलचित्र निर्माण गर्दै आइरहेकी छन् । यस वर्ष उनी नयाँ चलचित्र बनाउने तयारीमा छिन् ।

एक समय चलचित्रमा छोटा पहिरन लगाएका कारण उनको निकै चर्चा हुन्थ्यो । उनलाई नेपाली चलचित्रमा पहिलो पटक छोटा कपडामा अभिनय गर्ने नायिका समेत भनिन्छ । पर्दामा अभिनेत्री थापाको प्रतिष्पर्धा हिरोइनसँग नभएर हिरोसँग भयो । एक समयका स्टार निखिल उप्रेती र विराज भट्टसँग उनको राम्रै वाक युद्ध चल्यो । यो युद्धमा कसको जित भयो ? त्यो इतिहास बोल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu