कान्समा ‘एलिफेन्ट्स इन द फग’ को प्रिमियर: सञ्चारमन्त्री तिमिल्सिनाद्वारा बधाई ज्ञापन, नेपाली चलचित्रको प्रवर्द्धनमा सरकार प्रतिबद्ध



चलचित्र विकास बोर्डको तालुकदार निकाय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका मन्त्री विक्रम तिमिल्सिनाले कान्स फिल्म फेस्टिभलमा नेपाली चलचित्र “Elephants in the Fog” (एलिफेन्ट्स इन द फग) को प्रिमियर भएकोमा निर्माण टोलीलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै मन्त्री तिमिल्सिनाले विश्वकै प्रतिष्ठित उक्त फेस्टिभलको ‘अन सर्टेन रिगार्ड’ (Un Certain Regard) विधामा छनोट भई आज प्रिमियर भएकोमा नेपाल सरकारको तर्फबाट खुसी व्यक्त गरेका हुन्।

यस ऐतिहासिक उपलब्धिलाई राष्ट्रकै गौरवको विषय भएको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले नेपाली कथा, संस्कृति तथा सामाजिक यथार्थलाई विश्वमञ्चमा सफलतापूर्वक प्रस्तुत गरिएको बताएका छन्। यस सफलताले नेपाली चलचित्र क्षेत्रको क्षमता, सिर्जनशीलता र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकतामा भएको उल्लेखनीय प्रगतिलाई स्पष्ट रूपमा उजागर गरेको उनको भनाइ छ।

मन्त्री तिमिल्सिनाले चलचित्रका निर्देशक तथा लेखक अविनाश विक्रम शाह, निर्माता अनुप पौडेल, विशेषगरी कलाकार पुष्पा थिङ्ग लामालगायत सम्पूर्ण प्राविधिक तथा निर्माण टोलीलाई नामै तोकेर हार्दिक बधाई ज्ञापन गरेका छन्। यस चलचित्रले समग्र नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गराउन महत्त्वपूर्ण योगदान पुर्‍याएको उनले उल्लेख गरेका छन्।

आगामी दिनका लागि सरकारको धारणा र योजना स्पष्ट पार्दै मन्त्री तिमिल्सिनाले यस्ता गुणस्तरीय, सिर्जनात्मक र अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्न सक्षम चलचित्रहरूको प्रवर्द्धन र विकासका लागि नेपाल सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्। साथै, उनले नेपाली चलचित्र क्षेत्रले आगामी दिनमा पनि यस्तै उल्लेखनीय उपलब्धिहरू हासिल गर्दै विश्व चलचित्र मञ्चमा आफ्नो बलियो उपस्थिति थप सुदृढ बनाउँदै जाने विश्वाससमेत व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu