
काठमाडौं – बुधबार फ्रान्समा आयोजित विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा नेपाली चलचित्र ‘एलिफेन्ट्स इन द फग’ को सानदार वर्ल्ड प्रिमियर सम्पन्न भएको छ। प्रिमियरअघि चलचित्रका निर्देशक अविनाश विक्रम शाहसहित मुख्य कलाकारहरूको टोली कान्सको प्रतिष्ठित रेड कार्पेटमा सजिएर प्रस्तुत भएको थियो। रेड कार्पेटमा निर्देशक शाहका साथै कलाकारहरू पुष्पा थिङ लामा, सहद दिन मिया, जस्मिन विश्वकर्मा, अलिज घिमिरे र चयन अधिकारीले सँगै पाइला नाप्दै नेपाली सिनेमाको गर्विलो उपस्थिति जनाएका थिए।
कान्सको महत्त्वपूर्ण मानिने ‘अन सर्टेन रिगार्ड’ विधामा प्रिमियर भएको यस चलचित्रलाई हेरेपछि विश्वभरका चलचित्रकर्मी तथा समीक्षकहरूले उत्कृष्ट प्रतिक्रिया दिइरहेका छन्। विशेषगरी, चर्चित बलिउड निर्देशक अनुराग कश्यपले ‘लेटरबक्सडी’ प्लेटफर्ममार्फत चलचित्रको खुलेर तारिफ गरेका छन्। उनले यस चलचित्रको अन्तिम दृश्यलाई आफूले कान्समा अहिलेसम्मदेखेको सबैभन्दा उत्कृष्ट दृश्यको संज्ञा दिएका छन्। नेपाली चलचित्र क्षेत्रले यस सिर्जनामार्फत विशाल फड्को मारेको उल्लेख गर्दै कश्यपले दीपक रौनियारका ‘ह्वाइट सन’ र ‘पूजा, सर’ तथा मीनबहादुर भामका ‘कालो पोथी’ र ‘शाम्बाला’ जस्ता सफल चलचित्रहरूको यात्रामा यसलाई जोडेका छन्। साथै, उनले एक कुशल लेखकबाट अब्बल निर्देशकका रूपमा अविनाश विक्रम शाहको सुन्दर रूपान्तरण भएको भन्दै मुख्य अभिनेत्री पुष्पा थिङको शक्तिशाली अभिनयको समेत मुक्तकण्ठले प्रशंसा गरेका छन्।
अनुराग कश्यप मात्र नभई हलिउडको प्रतिष्ठित म्यागजिन ‘भेराइटी’ ले पनि यस चलचित्रको सकारात्मक समीक्षा प्रकाशित गर्दै विश्वभरका सिनेमाप्रेमीको ध्यानाकर्षण गराएको छ। म्यागजिनले यसलाई ट्रान्सजेन्डर समुदायको कथा बोकेको एक अत्यन्तै मनछुने चलचित्र भन्दै दक्षिण एसियामा ट्रान्स पहिचानलाई हेर्ने दृष्टिकोण र लेनदेनमुखी स्वीकृतिको यथार्थलाई निर्देशक शाहले निकै सूक्ष्म ढङ्गले प्रस्तुत गरेको उल्लेख गरेको छ।
ट्रान्सजेन्डर शरणार्थीहरूको मर्मस्पर्शी विषयवस्तुमा आधारित यस चलचित्रले जङ्गलमा हराएकी आफ्नी छोरीको खोजीमा निस्किएकी एउटी आमाको सङ्घर्ष र उनले सामना गर्नुपरेका अनेकौँ सामाजिक तथा व्यावहारिक अवरोधहरूलाई पर्दामा उतारेको छ। कथावस्तुको गहिराइ र प्रस्तुतीकरणको शैलीले गर्दा नै यस चलचित्रले अन्तर्राष्ट्रिय मञ्चमा यति धेरै वाहीवाही बटुलिरहेको हो।
स्मरण रहोस्, यसै चलचित्रले निर्माणका क्रममा वि.सं. २०८१ सालमा नर्वेको प्रतिष्ठित ‘सरफन्ड ग्रान्ट’ समेत जित्न सफल भएको थियो। उक्त ग्रान्टबापत चलचित्रले छ लाख नर्वेजियन क्रोनर अर्थात् करिब ७६ लाख नेपाली रुपैयाँ प्राप्त गरेको थियो। विश्वकै प्रतिष्ठित मञ्चमा पाएको यो साथ र प्रशंसाले नेपाली चलचित्रको अन्तर्राष्ट्रिय यात्रालाई थप उचाइमा पुर्याउने निश्चित छ।






