जन्मदिनमा दीपाश्रीको भावुक माफी (भिडियो सहित)



काठमाण्डौ। आज(आइतवार) निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाको ४५औँ जन्मदिन हो । केहि समय अगाडी अभिनेता राजेश हमालको बिषयमा एक टेलिभिजनको अन्तरवार्तामा गरेको टीप्पणी पछि दीपालाई गालीको बर्षा हुन पुग्यो । दीपासँगै अभिनेता दीपक राज गिरी पनि ट्रोलको शिकार हुन पुगे ।

आफ्नो जन्मदिनको अवसरमा यसै बिषयलाई लिएर दीपाश्रीले एक भिडियो सार्वजनिक गरेकी छन् । भिडियोमा उनले आफुले केहि गल्तीहरु गरेको भन्दै माफी मागेकी छन् । समस्याबाट भाग्नुभन्दा समस्यालाई ब्यवस्थापन गर्नु ठुलो कुरा हो भन्दै दीपाले आफ्नो कलायात्राका २९-३० बर्षमा आधी समय पीडादायी नै भएको बताएकी छन् ।

बिं.सं. २०६० सालमा जब हाँस्य टेलिचलचित्र ‘तितो सत्य’ आयो, दर्शकको साथ र मायाले त्यसपछि आफुले पछाडी फर्केर हेर्नु नपरेको बताउँदै उनले ‘तितो सत्य’को ६०० भाग, केहि चलचित्र र ‘छक्का पंजा’ सिरिजमा निकै धेरै माया दिएर एक पछि अर्को सफलता थपिदिेको र यसको लागी दर्शकसँग नतमस्तक भएको बताएकी छन् ।
‘कामको सफलता त पाएँ मैले तर, व्यक्तित्व विकासका कुराहरुमा मेरो अझै कमजोरी रहेछ । जस्तो की मीडियामा कसरी फेस हुने, कसरी शिष्ट हुने, कसरी सरल हुने, मीडियामा बोल्दाखेरी चलाखीपूर्ण तरिकाले कसरी उत्तर दिने ! यि कुराहरुमा मेरो अझै कमजोरी रहेछ । मैले त्यो महशुस गरेँ । तर, यो कुराले पनि राम्रै शिक्षा दियो मलाई, जस्तो की ठुलै आँधिबेरी आउँदाखेरी एउता ठुलो रुखमा कुहिएका फलहरु, जसरी झर्छन नी म मा भएका कमी कमजोरीहरु पनि यो घटनाले गर्दा झरे’, दीपाले भिडियोमा भनेकी छन् ।

प्रकाश सुवेदीको कार्यक्रममा भएको अन्तरवार्तामा आफुले तीनवटा गल्ती गरेको दीपाले बताएकी छन् । उनले भनेकी छन्, ‘पहिलो गल्ती, टीका लगाएको दाई(प्रकाश सुवेदी)ले बोलाउनु भएको हो, दाजु बहिनीको सम्बन्ध छ भनेर बीना तयारी अन्तरवार्ता दिन गएँ । दोश्रौ गल्ती, मलाई लगातार घोचिला, पेचिला, आरोप लाग्ने प्रश्नहरुले गर्दा मैले ‘कन्ट्रोल’ नै गर्न सकिन र मेरो ‘बडी ल्यांग्वेज’मा समस्या आयो । र, तेश्रो र प्रमूख गल्ती, कुटनीतिक चलाखी मैले देखाउन सकिन । म एउटा कलाकार भएर अर्को सिनियर कलाकारको बारेमा टीप्पणी गर्न पुगेँ । त्यो मेरो ठुलो भूल हो ।’

अन्तरवार्ता प्रशारण भएपछि दीपक राज गिरीले फोन गरेर अन्तरवार्तामा शब्द चयन राम्रो नभएको र आफुलाई मन नपरेको बताएको उनले बताएकी छन् । ‘दीपकजीले अन्तरवार्ता मलाई मन परेन भन्नुभयो । एकछिन चिसो पस्यो, यूट्युबमा गएँर ‘कमेन्ट’हरु हेरेँ । त्यहाँ एकदमै धेरै गाली गलौजहरु आईरहेको थियो । म आत्तिदै प्रकाश दाईलाई फोन गरेँ र भने म शब्द चयनमा एकदमै चुकेछु लौन केहि गर्नु पर्यो । प्रकाश दाईले कलाकारलाई गाली र ताली आईहाल्छ नी नडराउ भन्नुभयो । मैले मेरो ‘इन्टेन्शन’ त्यो होइन है भनेर भनेँ । मैले प्रकाश दाईलाई दोष पनि दिन्न किनभने म दाजुको सम्बन्धलाई सम्मान गर्ने मान्छे हो । मेरै नै गल्ती थियो भनेर चुप लागेर बसेँ ।’

भिडियोमा भावुक मुद्रामा दीपाले भनेकी छन्, ‘त्यसपछि दिनानु दिन एकपछि अर्को गाली माथी गाली आउँदै गयो । यति धेरै तिरस्कारका शब्दहरु आए ।’ सम्हालिन नसकेपछि उनले भिडियो रोकेकी छन् र पुन: आफुलाई सम्हाल्दै अर्को भिडियो क्लिपलाई जोडेर भनेकी छन्, ‘भाग्य भनौँ या दुर्भाग्य भनौँ । सफलता सँगसँगै यो गाली हाम्रो भाग्यमै टाँसिएर आएको रहेछ । यो घटना अगाडी पनि हाम्रो चलचित्रको गीत, ट्रेलर रिलीज हुँदा पनि हामीले गाली नै खान्थ्यौँ । तेरो चलचित्र ‘फल्प’ होस् जस्ता धेरै गालीहरु हामीले सहँदै आईरहेका थियौँ । यो गाली हामीलाई बानी नै परिसकेको थियो’ ।

उनले दीपकको बारेमा अगाडी भनेकी छन्, ‘मलाई मेरो साथी दीपकले राजेश हमालको बारेमा गल्ती भनिस् भनेर भनिरहँदा पनि उहाँलाई महानायकको ट्रोल बनाइयो, मैले भन्दा उहाँले धेरै गाली खानुपर्यो’ ।

दीपाले ‘हामी’ भनेर दीपक राज गिरी लगायतको आफ्नो टीमलाई जनाएकी छन् । टीमले समेत आफ्नो कारणले गाली खाएको भन्दै उनि पुन: भावुक बनेकी छन्, ‘मेरो टीममा नै संकट आउन पुग्यो । मलाई एकदमै आत्मग्लानी भयो । तर केहि छैन मेरा शूभचिन्तक र आफन्तहरुको माया, साथ र हौसलाले गर्दा आज फेरी उठेँ’ ।

उनले आफ्नो जन्मदिनमा केहि कुराहरु प्रण गरेकी छन् । उनले भनेकी छन्, ‘अबदेखि यस्तो गल्तीहरु कहिल्यै दोहोर्याउँदिन । आफ्नो व्यक्तित्व विकासमा पनि आफ्नो समय खर्चिन्छु । मेरो प्यारो दर्शकहरुको लागि म राम्रो चलचित्र बनाउने कोशिस गर्नेछु’ ।

चित्त दुखाएका राजेश हमालका फ्यानहरुसँग माफी माग्दै दीपाले भनेकी छन्, ‘राजेश दाईको फ्यानहरु वा मेरो फ्यानहरु भन्ने हुँदैन, सबैजना कलाकारहरुकै फ्यान हुनुहुन्छ आखिर । मेरो अभिव्यक्तीले यहाँहरुको मन दुखेको छ । कृपया, आफ्नै दिदि बहिनी सम्झेर मलाई माफी दिनुहोला’ ।

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu