६ सय प्राविधिकको कोरोना बीमा गर्दै राजेश हमाल



अभिनेता राजेश हमालले चलचित्र प्राविधिक संघमा आबद्ध ६ सय जना प्राविधिकको कोरोना बीमा गर्ने भएका छन् । प्राविधिक संघका पदाधिकारीहरुसँगको एक भेटमा उनले यो प्रतिवद्धता व्यक्त गरेका हुन् । उनले कोरोना बीमाका लागि प्राविधिकहरुको नामावली लिएर आउन आग्रह गरेको प्राविधिक संघका उपाध्यक्ष विनोद लामाले जानकारी दिए । यसका लागि केही दिनमा संघका पदाधिकारीहरुको बैठक बस्दैछ ।

अभिनेता हमालले आर्थिक अवस्था कमजोर रहेका सय जना प्राविधिकलाई ५ हजारको दरले आर्थिक सहयोग गर्ने चर्चाको बारेमा संघका उपाध्यक्ष लामा भन्छन्, ‘निषेधाज्ञाभन्दा अगाडि राजेश दाईले सय जना प्राविधिकलाई आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको थियो । हामीले कोरोना बीमाका लागि आग्रह गरेपछि उहाँ यसमा पनि सहमत हुनुभयो ।’

उनका अनुसार, अभिनेता हमालले ६ सयको कोरोना बीमासँगै आर्थिक अवस्था कमजोर रहेका केही प्राविधिकलाई आर्थिक सहयोग गर्ने पनि वचन दिएका छन् । ‘राजेश दाईले अधिकांश प्राविधिकसँग काम गर्नुभएको छ । उहाँबाट प्राविधिकहरुले पनि ठूलो आश गरेका छन् । उहाँले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेपछि प्राविधिकहरुको मुहारमा खुसी छाएको छ,’ उनले भने ।

केही दिनमा प्राविधिक संघको पदाधिकारीको बैठकबाट सर्वसम्मत रुपमा ६ सय जना प्राविधिकको नामावली कोरोना बीमाका लागि राजेश हमाललाई पठाउने उपाध्यक्ष लामाले बताए । कोरोनाका कारण हजारौं प्राविधिकहरुको रोजीरोटी गुमेको छ । ५ महिनायता चलचित्र सम्बन्धि कुनै कार्य नहुँदा उनीहरुलाई विहान बेलुका हातमुख जोर्न समेत समस्या हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu