दीपकराजको त्यो स्टाटस, जसले कुलमानबारे तरंगित बनायो



दैनिक १८ घण्टासम्म लोडसेडिङ भोगिरहेका जनतालाई उज्यालो दिएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको यही भदौ २९ गते कार्यकाल सकिँदैछ । उनी आउनुभन्दा अगाडि अर्बौं घाटामा रहेको प्राधिकरणलाई उनले चार वर्षको अवधिमा अर्बौं मुनाफा दिलाएका छन् । यसकारण पनि उनको सबैले मुक्तकण्ठले प्रशंसा गरिरहेका छन् ।

उनको चार वर्षे कार्यकाल सकिन केही दिन मात्र बाँकी रहँदा यतिबेला सामाजिक सञ्जालमा हरेक क्षेत्रका व्यक्तिले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी पुनः एकपटक उनलाई दिनुपर्ने आवाज उठाइरहेका छन् । यसमा कलाकारहरुले पनि साथ दिएका छन् । हरिवंश आचार्यदेखि करिश्मा मानन्धरसम्मले कुलमानलाई दोहोर्‍याउन सरकारसँग माग गरेका छन् ।

मंगलवार दिउँसो भने कुलमान पुनः प्राधिकरणमा दोहोरिएको खबर एकाएक फैलियो । तर, यसमा कुनै सत्यता थिएन । कुलमानको पुनः नियुक्तिबारे भ्रामक खबर फैलाएको भन्दै अहिले सामाजिक सञ्जाल प्रयोगकर्ता कलाकार दीपकराज गिरीमाथि खनिएका छन् । उनले फेसबुकमा प्राधिकरणको प्रमुख पदमा कुलमानलाई निरन्तरता दिने मन्त्रीपरिषदले निर्णय गरेको उल्लेख गरेका थिए ।

उनले लेखेका थिए, ‘आज बसेको मन्त्रीपरिषद् बैठकले कुलमान घिसिङलाई नै विद्युत प्राधिकरणको प्रमुख पदमा निरन्तरता दिने निर्णय गरेको छ । सरकारसँग यस्तै आशयको समाचार प्रेसित गरेर जनताकै पक्षमा उभिनुको विकल्प छैन ।’ उनले पहिलो वाक्यमा प्राधिकरणमा पुनः कुलमान दोहोरिएको उल्लेख गरेका छन् । तर, स्टाटसको अन्तिम वाक्य फरक छ ।

उनले स्टाटसको दोस्रो वाक्यमा ‘आशय’ शब्द प्रयोग गरेका छन्, जसले कुलमानको नियुक्तिबारे निर्णय नभएको बुझाउँछ । उनले प्राधिकरणमा पुनः कुलमानलाई निरन्तरता दिएर जनताको पक्षमा उभिनुको सरकारसँग विकल्प नभएको बताउन खोजेका छन् । तर, उनले व्यंग्यात्मक रुपमा लेखेको स्टाटसको अन्तिम वाक्य नबुझ्दा धेरैले भ्रामक खबर फैलाएको भन्दै उनीलाई गाली गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu