हरेक प्रकारको भूमिकामा जीवन्त अभिनय गर्न सिपालु मानिने प्रमोद अग्रहरीले लकडाउनको समयमा एउटा चलचित्रका लागि स्क्रिप्ट तयार पारेका छन् । पाँच महिनाको लकडाउनमा घरभित्रै बसेर आफूले चलचित्रको स्क्रिप्ट फाइनल गरेको उनको भनाई छ । स्थिति सामान्य हुने वितिक्कै आफूले लेखेको स्क्रिप्टमा चलचित्र निर्माण हुने उनले बताए । चलचित्रमा उनी स्वयंको प्रमुख भूमिका रहनेछ ।

उनले भने- ‘कोरोनाको त्रासले गर्दा लकडाउनभरी कोठाभित्रै बसेँ । आफ्नो स्वास्थ्यलाई ख्याल गर्दै एउटा चलचित्रका लागि स्क्रिप्ट लेखिसकेँ । हुनत, यसअघि नै स्क्रिप्टको खाका तयार पारेको थिएँ तर पर्याप्त समय दिन पाएको थिइनँ । लकडाउनमा स्क्रिप्टलाई मूर्तरुप दिने समय मिल्यो । मैले बाल्यकालदेखि समाजमा देख्दै र भोग्दै आएका चरित्रलाई स्क्रिप्टमा उतार्ने प्रयास गरेको छु ।’
चलचित्रमा पाँच जना कलाकारको प्रमुख भूमिका रहने र त्यसमध्ये आफू एक रहेको उनी बताउँछन् । आफूले निर्वाह गर्ने चरित्रले दर्शकलाई आफ्नोपन महशुस गराउने उनको विश्वास छ । उनले चलचित्रका लागि आफ्नो लुक्समा पनि परिवर्तन गर्दैछन् । उनले चलचित्रमा फाइनल भएका कलाकारलाई स्क्रिप्ट पठाइसकेका छन् । उनी आफूले लेखेको स्क्रिप्ट केही आग्रजलाई अध्ययन गर्न पनि दिँदैछन् ।