आगामी वर्षदेखि विद्यालयको पाठ्यक्रममा चलचित्र समावेश गरिने भएको छ । विद्यार्थीहरुलाई नेपाली चलचित्रको इतिहास र प्राविधिकलगायतका पक्षमा जानकारी दिने उद्येश्यले विद्यालयको पाठ्य पुस्तकमा चलचित्रलाई समेट्न लागिएको हो । पाठ्यक्रम विकास केन्द्रसँग चलचित्रलाई पाठ्यक्रममा समावेश गर्ने मोटामोटी सहमति भएको चलचित्र विकास बोर्डले जानकारी दिएको छ ।
यसका लागि पाठ्यक्रम विकास केन्द्रले बोर्ड अध्यक्ष दयाराम दाहाललाई पाठ्यक्रम निर्माण समितिको पदेन सदस्यको रुपमा आमन्त्रित गरेको छ । अध्यक्ष दाहालले पाठ्यक्रम विकास केन्द्रसँग यसबारेको छलफल करिब अन्तिम चरणमा पुगिसकेको जानकारी दिएका छन् । यस वर्ष ढिला भइसकेका कारण अर्को वर्षदेखि चलचित्रलाई पाठ्यक्रममा समावेश गरिने उनले बताए ।

विद्यालय तहको पाठ्यक्रममा चलचित्र समावेश गर्ने सहमति भए पनि कलेजमा के गर्ने भन्ने विषयमा टुंगो नलागेको उनको भनाई छ । आउँदो वर्षबाट पाठ्यक्रममा चलचित्रलाई समावेश गर्ने पहलमा आफू रहेको र सम्भव भए १०० पूर्णाङ नभए ५० पूर्णाङको पाठ्यक्रम बनाउने पहल भइरहेको उनले बताएका छन् । उनी अहिले पाठ्य पुस्तक लेखकहरुसँग पनि छलफल गरिरहेका छन् ।
कोरोनाको प्रभाव कम भएपछि आगामी वर्षका लागि पाठ्यक्रम निर्माणको काम सुरु हुने बोर्ड अध्यक्ष दाहाल भनाई छ । चलचित्र सम्बन्धि अध्ययन गर्दै आएका कलेजको पाठ्यक्रम पनि परिमार्जन हुने उनले बताए । नेपाली चलचित्रको इतिहास ५० वर्ष पूरा भए पनि अहिलेसम्म विद्यालयको पाठ्यक्रममा चलचित्र समावेश हुन सकेको थिएन ।