१५ हजारमा ‘होस्टेल रिटर्न्स’ गरेको थिएँ : स्वस्तिमा



वर्तमान समयमा नेपाली चलचित्रमा उच्च माग भएकी अभिनेत्रीमध्ये एक हुन्, स्वस्तिमा खड्का । डेढ वर्ष अगाडि प्रदर्शनमा आएको समीक्षात्मक रुपमा सफल चलचित्र ‘बुलबुल’ मा गरेको अभिनयबाट वाहवाही बटुलेकी उनले चलचित्र ‘होस्टेल रिटर्न्स’ अभिनय करिअर सुरु गरेकी थिइन् । यो चलचित्रमा उनी सहायक चरित्रमा थिइन् । तर, दर्शक तथा समीक्षकले उनको अभिनय रुचाएका थिए ।

५ वर्ष अगाडि प्रदर्शनमा आएको यो चलचित्र स्वस्तिमाले १५ हजार पारिश्रमिकमा साइन गरेकी थिइन् । तर, अझै आधा पारिश्रमिक लिन बाँकी रहेको उनको भनाई छ । आफ्नो नाममा खोलेको यूट्युब च्यानलमा एक प्रशंसकले पहिलो चलचित्रमा पाएको पारिश्रमिक खुलाउन गरेको आग्रहमा उनले आधा पारिश्रमिक लिन बाँकी भए पनि निर्माण टिमसँग कुनै गुनासो नभएको बताएकी छन् ।

उनले भनेकी छन्, ‘मैले १५ हजारमा पहिलो चलचित्र साइन गरेको थिएँ । तर, अझै आधा पैसा लिन बाँकी छ । तर, यही चलचित्रका कारण म यहाँसम्म आइपुगेको हुँ । पहिलो चलचित्रमा धेरै कुरा सिक्न पाएको थिएँ । मलाई त्यतिबेला एउटा प्लेटफर्मको जरुरी थियो । त्यसैले निर्मातासँग कुनै गुनासो छैन ।’ यो चलचित्रका निर्माता सुनिल रावल हुन्, जो अहिले अमेरिकामा बस्दै आएका छन् ।

अर्का प्रशंसकले चलचित्र निर्माण गर्ने कुनै सोच छ ? भनेर सोधेको प्रश्नमा स्वस्तिमाले एकल लगानीमा चलचित्र निर्माण गर्ने सोच नभए पनि शेयर भने हाल्न सक्ने बताएकी छन् । त्यस्तै, स्कूल लाइफमा कुनै शिक्षकसँग क्रस थियो ? भनेर एक प्रशंसकले सोधेको प्रश्नमा उनले भनेकी छन्, ‘स्कुलको शिक्षकसँग नभइ ट्यूसन टिचरसँग चाहिँ हल्का क्रस थियो । उहाँ म्याथ टिचर हुनुहुन्थ्यो ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu