दीपेन्द्र के. खनाल विगत ५ महिनायता नयाँ चलचित्र ‘चिसो मान्छे’ को स्क्रिप्टमा काम गरिरहेका छन् । यो चलचित्रमार्फत् उनले समाजभित्रको कथा भन्दैछन् । कोरोनाको महामारी अन्त्य भएपछि छायांकन सुरु हुने चलचित्रको आउँदो वर्षको भदौ ११ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको छ ।
‘आमा’ निर्मात्री सर्मिला पाण्डेले निर्माण गर्ने चलचित्रका लागि लिड अभिनेत्रीमा स्वस्तिमा खड्कालाई अफर गरिएको छ । उनलाई स्क्रिप्ट र आफ्नो भूमिका मन परेका कारण चलचित्र गर्न सकारात्मक छिन् । तर, निर्माण टिमसँग उनको कागजी सम्झौता भने भएको छैन ।

चलचित्र ‘चिसो मान्छे’ मा स्वस्तिमाको अपोजिटमा अभिनेता तथा निर्देशक अर्पण थापा फाइनल भएको चर्चा छ । उनीसँग निर्माण टिमको कागजी सम्झौता समेत भइरहेको बुझिएको छ । तर, निर्देशक खनाल र निर्मात्री पाण्डेले यस विषयमा कुनै जानकारी दिएका छैनन् ।
चलचित्रको सुदूरपश्चिमका विभिन्न भेगमा छायांकन हुनेछ । चलचित्रमा सुदूरपश्चिम भेगको परिवेश र लबज प्रयोग गरिँदैछ । पछिल्लो समय मानिसहरु कसरी स्वार्थी भइरहेका छन् भन्ने कथा चलचित्रले उठान गर्नेछ । चलचित्रलाई निर्देशक खनाल आफैंले खिच्दैछन् । ‘धनपती’ र ‘आमा’ पनि उनी स्वयंले खिचेका थिए ।