दुई वर्षदेखि अभिनेत्री श्वेता खड्काले चलचित्रमा काम गरेकी छैनन् । पछिल्लो पटक आफैंले निर्माण गरेको चलचित्र ‘कान्छी’ मा देखिएकी उनले गएको वर्ष एभरेष्ट सूर्य बोहराको ‘हेल्लो जिन्दगी’ साइन गरेकी थिइन् । तर, घाँटीमा ट्यूमर देखिएपछि उनले यो चलचित्र गर्न सकिनन् । अहिले आफ्नो व्यापार व्यवसायमा ध्यान दिँदै आएकी उनी एक नयाँ चलचित्र साइन गरेकी छन् ।

‘हुर्रे’, ‘मेरी मामु’ र ‘राज्जा रानी’ निर्देशन गरिसकेका यम थापाको निर्देशनमा बन्ने नयाँ चलचित्रमा श्वेताले काम गर्न लागेकी हुन् । चलचित्रमा उनी आमाको भूमिकामा हुने जानकारी प्राप्त छ । तर, उनले आफूले निर्वाह गर्न लागेको भूमिका खुलाउन चाहेकी छैनन् । चलचित्रले आमा र छोरीको भावनात्मक सम्बन्धको कथा वाचन गर्ने बुझिएको छ । चलचित्रको कथा निर्देशक थापा स्वयंको हो ।
निर्देशक थापाले पहिला श्वेतालाई अतिथी भूमिकाका लागि एउटा चलचित्र अफर गरेका थिए । तर, उनले उक्त चलचित्र गर्न अस्वीकार गरेपछि यमले नयाँ कथा सुनाएका थिए । श्वेता भन्छिन्, ‘कथा राम्रो लागेपछि काम गर्नका लागि सहमति जनाएको हुँ । कोरोना महामारीपछि यही चलचित्र गर्नेछु । यसपछि आफ्नै प्रोडक्सन हाउसबाट नयाँ चलचित्र निर्माण गर्दैछु । अहिले कथामा काम हुँदैछ ।’