दश दिने मौन व्रतमा रेखा



गएको बैशाखबाट अभिनेत्री रेखा थापा नयाँ चलचित्रको छायांकन थाल्ने तयारीमा थिइन् । तर, कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन घोषणा गरेपछि चलचित्रको छायांकन सुरु हुन सकेन । सविर श्रेष्ठले निर्देशन गर्ने चलचित्रमा उनको जोडीको रुपमा अभिनेता सौगात मल्ल देखिँदैछन् । अब दशैंअघि चलचित्रको छायांकन सुरु हुने सम्भावना न्यून छ ।

लकडाउनको समयमा रेखाले चलचित्रका लागि आफ्नो शरीर स्लिम बनाएकी छन् । व्यायाम गर्न थालेको केही महिनामा २० केजी तौल घटाएकी उनले ५/७ वर्ष खानामा ध्यान नदिएका कारण मोटाएको बताउने गरेकी थिइन् । अब भने उनले आफ्नो शरीरलाई ब्यालेन्समा ल्याइसकेकी छन् । जिमखाना बन्द भएपछि उनले आफू बस्ने अपार्टमेन्टको कम्पाउन्डमा व्यायाम गर्दै आएकी छन् ।

यसबीच, रेखा मंगलवारबाट कठोर ध्यानमा बसेकी छन् । उनी दश दिने मौन व्रत बसेकी हुन् । यो समयमा उनले मोबाइल चलाउन पाउने छैनन् र दिनमा एक पटक मात्र खाना खानेछिन् । साथै, उनले दैनिक १७ घण्टासम्म साधना गर्नुपर्ने छ । मनलाई एकाग्र बनाउन, मनभित्रका लोभ-मोह हटाउन, शरीरलाई सकारात्मक उर्जा प्रदान गर्न उनी ‘विपश्यना’ ध्यानमा बसेकी हुन् ।

चलचित्र ‘हिरो’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनी पछिल्लो पटक चलचित्र ‘मालिका’ मा देखिएकी थिइन् । एक समय नेपाली चलचित्रमा आफ्नो वर्चश्व कायम गरेकी उनले आफूलाई अभिनेत्रीसँगै गायिका, निर्देशक, संगीतकार, निर्माता र राजनीतिज्ञको रुपमा पनि चिनाइसकेकी छन् । छविराज ओझासँग डिभोर्स भएपछि एकल जीवन विताउँदै आएकी उनी विभिन्न कारणले चर्चा र विवादमा आइरहेकी हुन्छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu