नेपाली चलचित्र र म्यूजिक भिडियोमा निकै रुचाइएको जोडी हो, पल शाह र आँचल शर्मा । ‘आँप जोडी’ को रुपमा चिनिएका उनीहरुले चलचित्र ‘नाईं नभन्नू ल ४’ बाट एकसाथ अभिनय करिअर सुरु गरेका थिए । यो चलचित्रमा उनीहरुको जोडीलाई दर्शकहरुले निकै रुचाए । यसपछि उनीहरु मेकरहरुको रोजाईमा पर्न थालेका थिए । यी दुईले चलचित्र ‘जोनी जेन्टलम्यान’ र ‘शत्रु गते’ मा पनि सँगै काम गरेका छन् ।
सयभन्दा म्यूजिक भिडियोमा काम गरिसकेका पल र आँचल ‘जोनी जेन्टलम्यान’ रिलिजताका एकअर्काको प्रेममा रहेको चर्चा चलेको थियो । तर, उनीहरुले कहिल्यै प्रेम सम्बन्ध सार्वजनिक रुपमा स्वीकार गरेनन् । दुवैले आफूहरु मिल्ने साथी रहेको मात्र बताइरहे । दर्शकहरु भने यो जोडीलाई वास्तविक जीवनमा नै एक भएको हेर्न चाहन्थे । तर, यो अधुरै रह्यो ।

गत वर्ष आँचलले उदिप श्रेष्ठसँग घरबार बसाएकी छन् । उनको रिसेप्सन पार्टीको अघिल्लो दिन पल अभिनेत्री पूजा शर्माको साथमा मुक्तिनाथ दर्शनमा निस्किएपछि पल र आँचलको सम्बन्ध विग्रिएको चर्चा चलेको थियो । तर, पलले आफूहरु अहिले पनि असल साथी रहेको बताएका छन् । एक अन्तर्वार्तामा उनले आँचललाई सुखद बैबाहिक जीवनको शुभकामना पनि दिएका छन् ।
आफूलाई मनपर्ने अभिनेत्रीको नाम लिँदै उनले भनेका छन्, ‘मलाई अभिनेत्रीमा निरुता सिंह, नम्रता श्रेष्ठ र आँचल शर्मा मनपर्छ ।’ उनले आँचललाई गुड ह्यूमन विइङ र राम्रो अभिनेत्री भनेका छन् । पलले आँचल र उदिपको जोडी राम्रो रहेको पनि बताएका छन् । उनी भन्छन्, ‘उहाँहरुको जोडी एकदमै सुहाएको छ । आँचल मेरो राम्रो साथी हो । उहाँको बिहे भयो, खुसी छु ।’
उनले आँचलको रिसेप्सन पार्टीको समयमा आफू मुक्तिनाथमा रहेका कारण सहभागी हुन नपाएकोमा माफी मागेका छन् । ‘रिसेप्सन पार्टीको निम्ता आएको थियो । तर, त्यसबेला म मुक्तिनाथमा थिएँ,’ पलले भनेका छन्, ‘बिहे र व्रतबन्धमा गए साथी हुने र नगए दुश्मन हुने भन्ने हुँदैन ।’ उनले भविष्यमा आफू आँचलसँग चलचित्र र म्यूजिक भिडियोमा सँगै काम गर्न तयार रहेको बताएका छन् ।