‘ए मेरो हजुर ३’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी सुहाना थापा लकडाउनभन्दा अगाडि ‘ए मेरो हजुर ४’ को छायांकनमा व्यस्त थिइन् । यसमा उनको जोडी अभिनेता अनमोल केसीसँग बाँधिएको छ । लकडाउनका कारण चलचित्रको छायांकन रोकिएपछि उनी परिवारसँग समय विताइरहेकी छन् । भगवान् कृष्णको ठूलो भक्त बताउने उनी हप्तामा केही दिन मन्दिर पुगेर पुजाआजा पनि गरिरहेकी हुन्छिन् ।

सुनिल कुमार थापा निर्मित ‘ए मेरो हजुर ४’ यस वर्षको दशैंमा प्रदर्शनमा आउने तयारीमा थियो । तर, कोरोनाको संक्रणमबाट बच्न सरकारले लकडाउन घोषणा गरेपछि चलचित्रको छायांकन समेत पूरा हुन सकेको छैन । अब अर्को वर्षको दशैंमा चलचित्र प्रदर्शन हुने सम्भावना बढेको छ । दोस्रो पटक सुहाना र अनमोलको जोडी बाँधिएका कारण दर्शकहरु यो चलचित्रको व्यग्र प्रतिक्षामा छन् ।
चलचित्र ‘ए मेरो हजुर ३’ मा अनमोलको फ्यानको भूमिकामा सानदार अभिनय गरेकी सुहानाले यसको चौथो श्रृंखलामा कस्तो खाले भूमिका निर्वाह गरेकी छन् भन्ने धेरैलाई चासो छ । बिहीवार सामाजिक सञ्जाल इन्स्टाग्राममा ‘ए मेरो हजुर ४’ कहिले रिलिज हुन्छ भनेर एक प्रशंसकले सोधेको प्रश्नको जवाफ दिने क्रममा उनले चलचित्रमा आफूले निर्वाह गरेको भूमिका पनि खुलाएकी छन् ।
उनले सही समय आएपछि चलचित्र रिलिज हुने बताउँदै आफ्नो अनुहार लुकाएर एक तस्विर पोस्ट्याएकी छन् । चलचित्रको सुटिङ सेटमा खिचिएको तस्विरमा उनको हातमा एक खरीपाटी छ, जसमा उनको परिचय खुलाइएको छ । सुहानाको हातमा रहेको खरीपाटीमा नाम आर्या महर्जन, पेशा विद्यार्थी, घर पाटनदरबार स्क्वायर, उमेर १९ वर्ष र अपराध गुण्डागर्दी र मापसे उल्लेख छ ।

प्रहरीले अपराधमा संलग्न व्यक्तिलाई पक्राउ गरेपछि यसरी नै पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गर्ने गरेको छ । सुहानाले पोस्ट गरेको तस्विर हेर्दा उनी चलचित्रमा विद्यार्थी जीवनमा नै अरुसँग कुटपिट गर्ने र मापसे गरेर सवारी साधन चलाउने युवतीको भूमिकामा रहेको अनुमान लगाउन सकिन्छ । उनको यो पोस्टले दर्शकलाई चलचित्रप्रति अझ उत्सुकता बढाएको छ ।