कोरोना भाइरसका कारण देश अस्तव्यस्त बनेको छ । सरकारले संक्रमण फैलिन नदिन पाँच महिना लामो लकडाउन गर्यो । जसले गर्दा आम मानिसको जनजीवन कष्टकर बन्यो । धनाड्यलाई लकडाउनले खासै ठूलो असर नगरे पनि श्रम गरेर गुजरा चलाउनेलाई बिहान-बेलुका हातमुख जोर्न समेत समस्या भएको छ । तर, सरकार नागरिकको समस्याप्रति गम्भीर देखिएको छैन ।

विकल्पहीन शैलीमा गरिएको बन्दाबन्दीले आम मानिस रोगले भन्दा भोकले मर्ने अवस्था सृजना हुन थालेको छ । यही विषयमा आधारित भएर छोटो चलचित्र ‘मेरो कथा’ निर्माण भएको छ । बिहीवार यूट्युबमा सार्वजनिक भएको यो चलचित्रमा लकडाउन भएपछि काठमाडौंमा कोठा भाडामा लिएर कस्नेको कथालाई मनछुने ढंगबाट प्रस्तुत गरिएको छ ।
ऋण गरेर सुरु गरेको व्यवसाय कोरोनाले भताभुङ्ग हुन्छ । कोठामा भएको रासन सकिँदै जान्छ । कोठा भाडा तिर्न नसकेको महिनौं भइसकेको छ । कोठामा विरामी पिता छन् । यो अवस्थामा एक युवकको मनमा उब्जिएका विचारलाई छोटो चलचित्र ‘मेरो कथा’ मा प्रस्तुत गरिएको छ । यो चलचित्रलाई सत्यराज चौलागाईंले निर्देशन गरेका हुन् ।
प्रकाश बराइली, यज्ञ प्रसाद चौलागाई, सवि बज्रचार्य र सर्मिला चौलागाईको अभिनय रहेको चलचित्रको सम्पादन प्रकाश बराइलीले गरेका हुन् । सवि बज्रचार्य चलचित्रकी निर्मात्री हुन् । चलचित्रको कन्सेप्ट र छायांकन निर्देशक चौलागाईं स्वयमंको हो । ३ मिनेट ३६ सेकेण्डको चलचित्रको छायांकन एउटा घरको कोठाभित्र गरिएको छ ।
भिडियो :-