मनछुने लभस्टोरी चलचित्र पस्कन माहिर मानिने सुदर्शन थापा आइतवार आफ्नो जन्मदिन मनाउँदैछन् । ३७ वर्षमा प्रवेश गरेका उनको सेप्टेम्बर ६, १९८३ मा जन्म भएको हो । लभस्टोरी चलचित्रमा माइलस्टोन सावित भएका ‘मेरो एउटा साथी छ’ र ‘प्रेमगीत’ जस्तो उम्दा चलचित्र दिएर दर्शकको विश्वास जितेका उनले ‘अझै पनि’ र ‘चंखे शंखे पंखे’ चलचित्रमा अभिनेताको रुपमा पनि काम गरेका थिए ।
उनको पहिलो निर्देशकिय चलचित्र ‘मेरो एउटा साथी छ’ हो, जुन सन् २००९ मा प्रदर्शनमा आएको थियो । अभिनेता आर्यन सिग्देल र अभिनेत्री नम्रता श्रेष्ठ स्टारर यो चलचित्रले सुदर्शनलाई कुशल निर्देशकको रुपमा स्थापित गरेको थियो । आजका दिनसम्म पनि दर्शकको मनमा बस्न सफल यो चलचित्रले आर्यन र नम्रताको स्टारडम उत्कर्षमा पुर्याएको थियो ।

उनले ‘के यो माया हो’, ‘मेरो लभ स्टोरी’, ‘धन्दा’, ‘मधुमास’, ‘प्रेमगीत’, ‘म यस्तो गीत गाउँछु’, ‘रामकहानी’, ‘चंखे शंखे पंखे’, ‘मधुमास’ लगायतका चलचित्र निर्देशन गरिसकेका छन् । ‘मेरो एउटा साथी छ’ पछि उनी निर्देशित उम्दा चलचित्रको रुपमा ‘प्रेमगीत’ लाई लिने गरिन्छ । यो चलचित्रले प्रदीप खड्का र पूजा शर्मालाई रातारात स्टार बनाएको थियो ।
त्यस्तै, ‘म यस्तो गीत गाउँछु’ ले अभिनेता पल शाहको करिअर उत्कर्षमा पुगेको थियो भने ‘रामकहानी’ बाट अभिनेता आकाश श्रेष्ठ चम्किएका थिए । निर्देशक थापालाई चलचित्रकर्मी तथा दर्शकले स्टार जन्माउने कारखाना समेत भन्ने गरेका छन् । यस प्रकारको प्रशंसाले आफ्नो कामको स्याबासी भएको मान्छन्, उनी । आफूले प्रतिभा चिनेर अवसर दिने गरेको उनको भनाई छ ।
उनी भन्छन्, ‘मेरो कारणले कोही स्टार हुने होइन । मैले प्रतिभा चिनेर अवसर दिने गरेको छु । केही कलाकार मेरा चलचित्रबाट स्टारको रुपमा उदाएका छन् । केही मेरो चलचित्रमा गर्नुभन्दा अगाडि नै स्थापित थिए । उहाँहरु सबैको सफलताबाट म एकदमै खुसी छु । उहाँहरुले सफलता पाउँदा आफूले पाएको जस्तो महशुस हुँदो रहेछ । म सधैं उहाँहरुको सुन्दर भविष्यको कामना गर्छु ।’
सुदर्शन निर्देशक र अभिनेतासँगै गीतकार पनि हुन् । उनले लेखेको चलचित्र ‘म यस्तो गीत गाउँछु’ को ‘भन्छु आज मनका कुरा’ बोलको गीत निकै लोकप्रिय छ । उनले आफ्ना चलचित्रमा गीतसंगीतलाई विशेष महत्त्व दिने गरेका छन् । उनी निर्देशित दुई चलचित्र ‘म यस्तो गीत गाउँछु २’ र ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनको पखाईमा छ । कोरोना महामारीपछि नयाँ चलचित्रको छायांकन थाल्ने तयारीमा पनि उनी छन् ।