कोरोना भाइरसका कारण विश्वव्यापी पहिचान बनाएका हलिउड तथा बलिउडको व्यापार ठप्प छ । यो समयमा नेपाली चलचित्र निर्माण र प्रदर्शन हुने कुरै भएन । चैतदेखि सिनेमा हलहरू बन्द छन् । प्रदर्शनका लागि तयार भएका चलचित्र कहिले प्रदर्शन हुने भन्ने निश्चित छैन । ६ महिनादेखि चलचित्र निर्माण रोकिँदा कलाकार फुर्सदिला भएका छन् भने हजारौं प्राविधिकको रोजीरोटी गुमेको छ ।
संक्रमण फैलिन नदिन लकडाउन र निषेधाज्ञा गरिए पनि कोरोना संक्रमितको संख्या घट्न सकेको छैन । यसकारण दशैंअघि चलचित्र क्षेत्र सञ्चालनमा आउने सम्भावना न्यून छ । स्थिति सामान्य भएपछि पनि चलचित्र क्षेत्र आफ्नो लयमा फर्किन समय लाग्ने देखिन्छ । कोरोना महामारीपछि चलचित्र क्षेत्रलाई चलायमान बनाउनका लागि चलचित्र निर्माणमा गति दिन कलाकारले पारिश्रमिक घटाउनु पर्ने आवाज उठिरहेको छ ।

दयाहाङ राई, स्वस्तिमा खड्का, पल शाहलगायतका कलाकारले निर्माता/निर्देशकको उद्देश्य बुझेर पारिश्रमिक घटाउन तयार भएको बताएका छन् । नेपाली चलचित्रकी अहिलेकी महंगी अभिनेत्रीको रुपमा चिनिएकी साम्राज्ञी आरएल शाहले पनि यो परिस्थितिबाट चलचित्र क्षेत्रलाई माथि उठाउनका लागि पारिश्रमिक घटाउने विषयमा आफू सकारात्मक रहेको बताएकी छन् ।
हालै एक अन्तर्वार्तामा साम्राज्ञीले भनेकी छन्, ‘अहिले समय अनुकूल छैन । सिनेमा हलहरु बन्द छन् । चलचित्र निर्माण भएका छैनन् । म पनि एउटा कलाकार हुँ । यो क्षेत्रको पीडा केही हदसम्म बुझ्छु । यसकारण सहमतिमा पारिश्रमिक घटबढ गरेर चलचित्र गर्न तयार छु ।’ चलचित्रबाट अब आफू टाढिएर बस्न नसक्ने बताउँदै उनले चलचित्र मेकिङ पढ्ने इच्छा रहेको पनि बताएकी छन् ।