छेतन इमोसनल थियो : निर्देशक राउत



लभस्टोरी चलचित्रको कथा लेख्न सिपालु मानिने लेखक तथा निर्देशक छेतन गुरुङको निधन भएको छ । मंगलवार विहान २ गते काठमाडौंको मेट्रो अस्पतालमा उनले अन्तिम सास फेरेका हुन् । २०३५ साल माघ २२ गते उनको जन्म भएको थियो । ४२ वर्षको अल्पआयूमै संसारबाट सदाका लागि विदा लिएका उनले चलचित्र ‘डम्बरुको डण्डीवियो’ बाट निर्देशनमा डेब्यू गरेका थिए ।

२०१४ मा आएको दिनेश राउत निर्देशित चलचित्र ‘नोभेम्बर रेन’ को कथा, पटकथा र संवाद लेखेर उनले लेखन यात्रा आरम्भ गरेका थिए । उनलाई पहिलो चलचित्रले नै कुशल लेखकको रुपमा स्थापित गरेको थियो । एनएफडिसी अवार्डमा यही चलचित्रबाट उत्कृष्ट लेखकको अवार्ड जितेका गुरुङले यसपछि ‘क्लासिक, डायरी, ए मेरो हजुर ३’ लगायतका चलचित्रको स्क्रिप्ट लेखेका थिए ।

उनले लेखेका दुई चलचित्र ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ का निर्देशक दिनेश राउतले चलचित्र क्षेत्रले एक प्रतिभावान व्यक्ति गुमाएकोमा दुःख व्यक्त गरेका छन् । छेतन गुरुङलाई सम्झँदै उनले भने- ‘ऊ एकदमै क्रियटिभ मान्छे हो । कसैको चित्त नदुखाउने, कसैको कुभलो नसोच्ने मान्छे थियो । सबैका लागि सबै राम्रो होस् भन्ने सोच्थ्यो । एकदमै सकारात्मक सोच थियो ।’

उनी छेतन गुरुङलाई इमोसनल चलचित्र राम्रोसँग लेख्न सक्ने लेखक भन्न रुचाउँछन् । निर्देशक राउत भन्छन्, ‘ऊ आफू पनि इमोसनल मान्छे थियो । त्यसैले इमोसनल चीज उसले फिल गर्न सक्थ्यो र इमोसनल चीजलाई राम्रोसँग लेख्न सक्थ्यो । म उसको लेखन शैलीबाट प्रभावित छु ।’ तर, उनी आफ्नो स्वास्थ्यप्रति गम्भीर नभएका कारण आजको परिणाम आएको राउतको भनाई छ ।

उनको गएको चार दिन अगाडि छेतन गुरुङसँग अन्तिम पटक भेट भएको थियो । काभ्रेमा चलचित्र ‘हुतुतु’ को स्क्रिप्टको छलफलका लागि उनीहरुबीच भेट भएको थियो । ‘काभ्रेबाट हामी सँगै आएका थियौं र उसलाई घर छाडेका थियौं । घर पुगेपछि ऊ फेरि भेटघाटका लागि निस्किएछ । एक दिन साथीसँग बसेर घर फर्किँदा स्वास्थ्य विग्रिएपछि अस्पताल लगिएको रहेछ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu