निर्देशक छेतन गुरुङको अन्त्येष्टि



चलचित्र निर्देशक तथा स्क्रिप्ट राइटर छेतन गुरुङको अन्त्येष्टि गरिएको छ । मंगलवार काठमाडौंको मेट्रो अस्पतालमा निधन भएका उनको बिहीवार स्वयम्भुस्थित मनाङ समाज हिमाली गुम्बामा बौद्ध परम्परा अनुसार अन्त्येष्टि गरिएको हो । तीन दिन अगाडि कलेजोमा समस्यामा देखिएपछि उनलाई अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । उनको उपचारको क्रममा निधन भएको हो ।

निर्देशक गुरुङप्रति अन्तिम श्रद्धाञ्जली दिन गुम्बामा विभिन्न चलचित्रकर्मीहरु पुगेका थिए । चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालसँगै प्रदीप खड्का, आर्यन सिग्देल, सलोन बस्नेत, झरना थापा, दिनेश राउत, सन्तोष सेन, कविराज गहतराज, क्रिस्टिना गुरुङ, मनिष राउतलगायत विभिन्न चलचित्रसँग सम्बन्धित संघ संस्थाका व्यक्तिहरुले पुष्पगुच्छासहित उनलाई श्रद्धाञ्जली अर्पण गरेका थिए ।

लभस्टोरी चलचित्रको कथा लेख्न सिपालु मानिने निर्देशक गुरुङको चलचित्र ‘डम्बरुको डण्डीवियो’ मा निर्देशकिय क्षमताको प्रशंसा भएको थियो । यद्यपि, चलचित्र भने बक्सअफिसमा चलेन । उनी चलचित्र ‘प्रेमगीत ३’ लाई लिएर निकै उत्साहित थिए । तर, यो चलचित्र प्रदर्शनमा आउनुभन्दा अगाडि नै उनले संसारबाट विदा लिएका छन् । यो उनको ड्रिम प्रोजेक्ट थियो ।

चलचित्र ‘नोभेम्बर रेन’ को कथा, पटकथा र संवाद लेखेर छेतन गुरुङ चलचित्र क्षेत्रमा भित्रिएका थिए । उनले पहिलो चलचित्रबाटै उत्कृष्ट लेखकको अवार्ड उचालेका थिए । त्यस्तै, डेब्यू निर्देशित चलचित्र ‘डमरुको डण्डीवियो’ बाट उनले कामना अवार्डमा नव-निर्देशकको अवार्ड जित्न सफल भएका थिए । उनले सन् २०१५ मा आएको चलचित्र ‘आभाष’ को एक गीतमा संगीत समेत भरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu