गएको ६ महिनायता हरेक कलाकारको दैनिकी घरभित्रै वितिरहेको छ । कोरोनाको भयले घरभन्दा बाहिर निस्कन नसकेका उनीहरु किताब पढेर वा फिल्म हेरेर दिन काटिरहेका छन् । कतिले भने भान्सा छिरेर विभिन्न परिकार बनाउन सिकेका छन् । घर बसाई लम्बिरहेको अवस्थामा कतिले सृजनात्मक काम पनि गरेका छन् । लकडाउनले केही कलाकारलाई भने कवि बनाएको छ ।

चलचित्र ‘बुलबुल’ मा चोपेन्द्रको भूमिका निर्वाह गरेपछि चर्चामा आएका अभिनेता मुकुन भुषालले निषेधाज्ञामा आफ्नो बालापनलाई सम्झिएर एक कविता लेखेका छन् । बुधवार उनले आफ्नो आधिकारिक फेसबुकमा आफूले लेखेको कविता वाचन गरेको एक भिडियो शेयर गरेका छन्, जसमा उनले आफ्नो जस्तै बालापन आफ्नो सन्तानको पनि वितेको हेर्ने इच्छा व्यक्त गरेका छन् ।
‘हुकाई’ शिर्षकको कवितामा उनले अहिलेका बच्चाहरुमा आफूको जस्तो बालापन नपाएको बताएका छन् । उनको कवितामा भनिएको छ, ‘म चाहन्छु खेलोस् धुँलो, खाओस् हिलो अनि बाबा भनोस् घुँडाको चोट चहराइरहेको देखाओस् । बरु फुटोस् जरो, पानी पट्टी मै बाँधुला । मिश्री पानी असुरोको झोल मै बनाउला । तर खेलोस् मज्जाले घाम नअस्ताउन्जेलसम्म । छिट्टै घर नआओस् । उसकी आमालाई लागोस् घन्टौं खोज्न, बरु खाना मै बनाउला ।’
अभिनय सम्बन्धि अध्ययन पनि गराउँदै आएका अभिनेता भुषालले यो कवितामार्फत् अहिलेका बच्चाहरुमा आफ्नो जस्तो बालापन नभेटेको र आफ्नो सन्तान आफू हुर्किएको जस्तै बालापनमा हुर्कियोस् भन्ने इच्छा रहेको बताएका छन् । कविताको अन्तिम वाक्यमा उनले ‘के यो सम्भव छ ?’ भनेर प्रश्न पनि गरेका छन् । उनको यो कवितालाई सामाजिक सञ्जालमा धेरैले मन पराएका छन् ।