चलचित्र ‘लिलिबिली’ बाट अभिनेत्रीको रुपमा प्रवेश गरेकी जसिता गुरुङ र चलचित्र ‘इन्टु मिन्टु लण्डन’ मा अभिनेताको रुपमा सुखद डेब्यू गरेका धिरज मगरले पहिलो पटक चलचित्रमा अनस्क्रिन रोमान्स गर्दैछन् । रेनशा वान्तवा राईले निर्देशन गर्ने चलचित्र ‘आई एम ट्वान्टि वान’ मा उनीहरुको जोडी बाँधिएको छ । तर, यो चलचित्र निर्माण हुने भनिएको दुई वर्षसम्म पनि फ्लोरमा जान सकेको छैन ।
गएको वर्ष निर्देशक राईले सन् २०२१ मा चलचित्र प्रदर्शन गर्ने जानकारी दिएकी थिइन् । प्रि-प्रोडक्सनका सम्पूर्ण काम सकिएकाले लकडाउन खुलेपछि चलचित्रको छायांकन थाल्ने तयारीमा निर्माण टिमको थियो । तर, कोरोनाका कारण सरकारले छायांकन अनुमति नदिँदा चलचित्र निर्माण हुन सकेको छैन । जसले गर्दा निर्धारित मितिमा चलचित्र प्रदर्शन हुने सम्भावना न्यून हुँदै गएको छ ।

यो फिल्म नृत्यमा आधारित भएर निर्माण हुँदैछ । आफ्नो भूमिकालाई जीवन्त रुपमा निर्वाह गर्न जसिता र धिरजले ६ महिनादेखि डान्स सिकिरहेका छन् । उनीहरु चलचित्रमा आउनुभन्दा अगाडि एकअर्काको प्रेममा रहेको चर्चा छ । तर, यस विषयमा दुवैले मुख खोलेका छैनन् ।
अभिनेता धिरज मगरले बिहीवार आफ्नो जन्मदिन मनाएका छन् । उनलाई जसिताले विशेष रुपमा जन्मदिनको शुभकामना दिएकी छन् । इन्स्टाग्राम एकाउन्टमा धिरजसँगका दुई प्रेमिल तस्विर पोस्ट गर्दै उनले ‘स्टे गोल्ड’ भनेर लेखेकी छन् । धिरजलाई सधैं सुन जस्तै रहन उनको आग्रह छ । जसिताको उक्त पोस्टमा धेरै दर्शकले जोडी सुहाएको प्रतिक्रिया जनाएका छन् ।