करिश्माको प्रश्न- ‘प्रेमको प्रश्नमा के जवाफ दिउँ ?’



अभिनेत्री करिश्मा मानन्धरले पहिलो चलचित्र ‘सन्तान’ गर्दा भर्खर १४ वर्षकी थिइन् । यसको चार वर्षपछि अर्थात् १८ वर्षको उमेरमा उनले निर्माता विनोद मानन्धरसँग विवाह गरिन् । बैबाहिक जीवनमा बाँधिएपछि उनको चलचित्र करिअरले गति लिएको थियो । अभिनयमा सक्रिय रहँदा उनको नाम विभिन्न व्यक्तिसँग जोडियो । करिश्मालाई तिनै व्यक्तिसँग जोडेर आजका दिनमा पनि प्रश्न गर्ने गरिन्छ ।

यो उमेरमा पनि आफूलाई अन्तर्वार्तामा प्रेम सम्बन्धको प्रश्न आउने गरेकोप्रति उनले असन्तुष्टि व्यक्त गरेकी छन् । उनले फेसबुकमा लेखेकी छन्, ‘एउटा महिला कलाकार भएको नाताले मैले घरीघरी भोग्नु परेको एउटा बिषय के हो भने तपाईं फलानोसँग प्रेम सम्बन्धमा हुनुहुन्थ्यो रे । म जुन क्षेत्रमा काम गर्छु त्यहाँ विभिन्न मानिसहरुसँग संगत हुन्छ, कतिसँग नजिक पनि भइन्छ, यो उमेरसम्म आउपुग्दा पनि अन्तर्वार्ताहरुमा त्यो एउटा प्रश्न जरुर आउँछ ।’

अभिनेत्री करिश्माले प्रश्न गर्दै अगाडि लेखेकी छन्, ‘म एउटा विवाहित महिला हुँ, परिवारमा बस्छु, बिहे गर्ने उमेरको छोरी छ, अब यस्तो प्रश्नको के जवाफ दिऊँ ?’ आफूसँग प्रेम सम्बन्ध रहेको भनिएका पुरुषलाई भने यो प्रश्न कहिल्यै नगरिने उनी बताउँछिन् । उनले आफू महिला भनेर हेपेको त होइन भनेर प्रश्न पनि गरेकी छन् । आफ्नो श्रीमान र परिवारको इज्जत गर्न उनको आग्रह छ ।

‘के दर्शकहरुलाई यस्तो प्रश्नको जवाफ सुनेर रमाइलो हुन्छ होला र ?’ उनले अगाडि लेखेकी छन्, ‘के बुझौं भने अहिलेको दर्शक स्रोता धेरै स्मार्ट हुनुहुन्छ सबै कुरा बुझ्नु हुन्छ ।’ हरेक अन्तर्वार्तामा सोधिने प्रेम सम्बन्धको प्रश्नले आफू दिक्क भएको र यसप्रकारका प्रश्नले आफ्नो परिवारमा समेत नराम्रो असर पर्ने गरेको करिश्माको आशय छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu