कवितालाई चलचित्र गर्ने रहरले निराश बनायो : करिश्मा मानन्धर



नेपाली चलचित्रकी सदावहार अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविता मानन्धर उमेरले २४ वर्षकी भइसकेकी छन् । अमेरिकामा अध्ययन गरेर फर्किएकी उनलाई दर्शकहरुले ठूलो पर्दामा हेर्न चाहेका छन् । उनले दुई वर्ष अगाडि चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ साइन पनि गरेकी थिइन् । तर, यो चलचित्र छायांकनकै क्रममा रोकिएपछि उनको अभिनेत्री बन्ने सपना पूरा हुन पाएन ।

चलचित्रमा कविताको जोडी अभिनेता शिव श्रेष्ठका छोरा शक्तिसँग बाँधिएको थियो । उनीहरुले चलचित्रको केही प्रतिशत छायांकन समेत गरेका छन् । तर, निर्माताबीचको आन्तरिक मनमुटावले चलचित्रको छायांकन पूरा हुन सकेको छैन । अब यो चलचित्र निर्माण भएर प्रदर्शन हुने सम्भावना न्यून हुँदै गएको छ । अभिनय गरेको पहिलो चलचित्र बीचमै रोकिँदा कविता निराश भएकी छन् ।

अभिनेत्री करिश्माले एक टेलिभिजन अन्तर्वार्तामा छोरीको चलचित्रप्रति रुचि हराउँदै गएको बताएकी छन् । उनले भनेकी छन्, ‘सबै कुराले पूर्णता पाउँछ भन्ने हुँदैन । त्यो चलचित्र (एउटा यस्तो प्रेम कहानी) त्यस्तै भयो । कविताले त्यो बेला रहर गरिन् र त्यसले उनलाई निराश पनि बनायो । फेरि चलचित्र गर्ने उनको रहर मेटिएजस्तो छ । अहिले चलचित्र गर्ने विषयमा कुरा गरेकी छैनन् ।’

‘एउटा यस्तो प्रेम कहानी’ भन्दा अगाडि करिश्माले आफ्नै होम प्रोडक्सनबाट छोरीलाई अभिनेत्रीमा डेब्यू गराउन चाहेकी थिइन् । त्यसका लागि चलचित्रको स्क्रिप्टमा समेत काम भएको थियो । तर, शिव श्रेष्ठले कवितालाई आफ्नो चलचित्रबाट डेब्यू गराउन चाहेपछि करिश्मा पछाडि हटेकी थिइन् । करिश्माको भनाईबाट बुझ्न सकिन्छ कि अब कवितालाई चलचित्रमा काम गर्ने रहर छैन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu