‘कुसुमे रुमाल’ ले बदलेको भुवन केसीको करिअर



नेपाली चलचित्रका सर्वाधिक सफल अभिनेता भुवन केसी बिहीवारबाट ६२औं वर्षमा प्रवेश गरेका छन् । २०१५ साल असोज १ गते काठमाडौंमा जन्मिएका उनलाई सामाजिक सञ्जालको माध्यमबाट चलचित्रकर्मीसँगै दर्शकहरुले जन्मदिनको शुभकामना दिइरहेका छन् । तीन दशकभन्दा लामो समयदेखि चलचित्रमा सक्रिय रहेका उनले गायकको रुपमा आफ्नो करिअर सुरु गरेका थिए ।

रेडियो नेपालमा ‘मायालु तिमी कता छौ ?’ गीत रेकर्ड गराएका उनी नेपाली म्यूजिक भिडियो दुनियाँका पहिलो मोडल समेत हुन् । आफ्नो आवाज रहेको गीतमा उनी स्वयंले अभिनय गरेका थिए । सन् १९८१ मा चलचित्र ‘जुनी’ बाट अभिनेताको रुपमा डेब्यू गरेका उनलाई चलचित्र ‘सम्झना’ बाट सफलता मिलेको थियो । यसपछि उनले आफ्नो करिअर कहिल्यै पछाडि फर्केर हेर्नु परेन ।

भुवन केसीको करिअरको सबैभन्दा ब्लकबस्टर र सम्झनलायक चलचित्रको रुपमा तुलसी घिमिरे निर्देशित ‘कुसुमे रुमाल’ लाई लिने गरिन्छ । सन् १९९३ मा आएको यो चलचित्रले उनलाई सफलताको उत्कर्षमा पुर्‍याएको थियो । तीन दशक लामो अभिनय करिअरमा सयभन्दा बढी चलचित्रमा अभिनय गरेका उनलाई सर्वाधिक सफल र सम्झनलायक चलचित्र दिने अभिनेता भन्ने गरिएको छ ।

‘सन्तान, कन्यादान, चिनो, दुई थोपा आँशु, करोडपति, नेपाली बाबु, सुपरस्टार’ लगायतका चलचित्रमा अभिनय गरिसकेका उनी पछिल्लो पटक चलचित्र ‘मिस्टर नेपाली’ मा देखिएका थिए । तर, यो फिल्म सफल हुन सकेन । पछिल्लो समय उनी अभिनयभन्दा चलचित्र निर्माणमा बढी सक्रिय छन् । छोरा अनमोलले आफ्नो बिडो थामेपछि उनले अभिनयलाई खासै प्राथमिकता दिएका छैनन् ।

बैबाहिक जीवनको कुरा गर्ने हो भने उनले दुई विवाह गरिसकेका छन् । पहिलो श्रीमती विजया केसीसँग डिभोर्स भएपछि उनले अभिनेत्री सुस्मिता बम्जनसँग विवाह गरेका थिए । तर, उनको दोस्रो विवाह पनि टिक्न सकेन । विजयाबाट उनको एक छोरा र एक छोरी छन् भने सुस्मिताबाट जन्मिएका हुन्, अनमोल । केही वर्षयता उनी अभिनेत्री जीया केसीसँग लिभिङ टुगेदरमा छन् ।

भुवन केसीसँगै बिहीवार अर्का अभिनेता दीलिप रायमाझीको पनि जन्मदिन परेको छ । चलचित्र ‘भानुभक्त’ बाट अभिनय करिअर सुरु गरेका उनको एक समय नेपाली चलचित्रमा चर्को बोलबाला थियो । चलचित्र ‘दर्पण छायाँ’ को सफलतापछि करिअरको उत्कर्षमा पुगेका उनी नृत्य र अभिनयमा उम्दा मानिन्छन् । उनी अभिनीत तथा निर्मित नयाँ चलचित्र ‘लक्का जवान’ प्रदर्शनको पखाईमा छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu