असोज १ गतेलाई ‘राष्ट्रिय चलचित्र दिवस’ मान्ने गरिएको छ । २०६८ सालमा चलचित्र विकास बोर्डले ‘राष्ट्रिय चलचित्र दिवस’ मनाउने निर्णय गरेको थियो । तत्कालीन बोर्ड अध्यक्ष गणेश भण्डारीले २०६८ असोज १ गते धुमधामका साथ चलचित्र दिवस सम्पन्न गरे । त्यसपछि भने बोर्डले चलचित्र दिवस मनाएको र सम्झिएको पाइन्न । बिहीवार (हिजो) चलचित्र दिवसको अवसरमा केही चलचित्रकर्मीले सामाजिक सञ्जालमा शुभकामना आदान-प्रदान गरे ।
तर, चलचित्र विकास बोर्डले भने ‘चलचित्र दिवस’ सम्झिएन । जसले गर्दा चलचित्रकर्मीहरु पनि असोज १ गतेलाई चलचित्र दिवस मान्ने वा नमान्ने भन्नेमा अन्योल छन् । निर्देशक केपी पाठकले शुक्रवार फेसबुकमा एक स्टाटस लेख्दै नेपाली चलचित्रको अथवा विश्व चलचित्रको कुनै साइनो नै नभएको दिन असोज १ गते नेपालको ‘राष्ट्रिय चलचित्र दिवस’ कसरी भयो ? भनेर प्रश्न गरेका छन् ।

यसअघि पनि केही चलचित्रकर्मीले असोज १ गतेलाई चलचित्र दिवसको रुपमा मनाउनु पर्ने कुनै आधार नभएको बताएका थिए । किनकि, यो मितिमा नेपाली चलचित्र निर्माण र प्रदर्शन भएको इतिहास छैन । तत्कालीन बोर्ड अध्यक्ष गणेश भण्डारीले असोज १ गतेलाई ‘चलचित्र दिवस’ घोषणा गर्दा आफूले सान्दर्भिक नभएको भन्दै विरोध जनाएको निर्देशक केपी पाठक स्मरण गर्छन् ।
उनले भने- ‘मैले नेपाली चलचित्रको साइनो नै नभएको दिन चलचित्र दिवस मनाउनु हुन्न भनेर यसबेला नै आवाज उठाएको थिएँ । तर, तत्कालीन बोर्ड अध्यक्षले मान्नु भएन । किनकि, त्यसबेला मन्त्रीले उहाँको राजीनामा मागेको अवस्था थियो । एक/दुई दिनमा राजीनामा दिनुपर्ने थियो । आफ्नै कार्यकालमा यो काम गर्दा इतिहासमा सम्झिनेछन् भनेर हतारमा घोषणा गर्नुभएको थियो ।’

तत्कालीन बोर्ड अध्यक्षको व्यक्तिगत आकांक्षाले चलचित्र क्षेत्रलाई फाइदा नगरेको उनको भनाई छ । यो विषयमा चलचित्रकर्मीबीच बहस हुनुपर्ने भए पनि कसैलाई चासो नभएको उनले गुनासो गरे । उनी अगाडि भन्छन्, ‘कुनै न कुनै कुरामा परिवर्तन भएको दिनलाई दिवसको रुपमा मान्ने गरिन्छ । असोज १ गते चलचित्र क्षेत्रमा यो काम भएको थियो भनेर खोइ बोर्डले स्पष्ट पार्न सकेको ?’

केपी पाठक असोज १ गते ‘सत्य हरिशचन्द्र’ वा ‘आमा’ को निर्माण र प्रदर्शन भएको जानकारी आफूलाई नभएको बताउँछन् । अन्य चलचित्रकर्मीलाई पनि यो दिन नेपाली चलचित्र इतिहासमा के भएको थियो भन्ने जानकारी नभएको उनले बताए । नेपाली चलचित्रको इतिहाससँग दिवसको साइनो हुनुपर्ने उनको तर्क छ । बोर्डलाई चलचित्र दिवसको मिति सच्चाउन उनको आग्रह छ ।





