अभिनेता अनमोल केसीसँग काम गरेका केही अभिनेत्रीको भाग्य बदलिएको छ । त्यसमध्ये एक हुन्, उपासना सिंह ठकुरी । डेढ वर्षअघि चलचित्र ‘क्याप्टेन’ बाट अभिनय यात्रा आरम्भ गरेकी उनी अहिलेकी डिमान्डेड अभिनेत्रीमध्ये एक हुन् । यो चलचित्रले बक्सअफिसमा सफलता प्राप्त गर्न नसके पनि उनको काम रुचाइएको थियो । यही कारण अहिले उनी निर्माता-निर्देशकको रोजाईमा छिन् ।
उनै, उपासनाले आइतवार आफ्नो २२औं जन्मदिन मनाउँदैछिन् । २०५५ साल असोज ४ गते जन्मिएकी उनलाई सुपर काजल फिल्मस्ले आफ्नो उत्पादन भन्दै जन्मदिनको शुभकामना दिएको छ । चलचित्रकर्मी र दर्शकहरुले पनि सामाजिक सञ्जालमार्फत् उनलाई ‘बर्थ-डे विस’ गरेका छन् । आफूलाई जन्मदिनको शुभकाना दिने सबैलाई उनले इन्स्टाग्राममार्फत् धन्यवाद दिएकी छन् ।

‘क्याप्टेन’ बाट आफूलाई सम्भावना बोकेको अभिनेत्रीको रुपमा उभ्याएकी उनी यो चलचित्र रिलिज लगत्तै सुपरहिट चलचित्र ‘कबड्डी’ को तेस्रो पार्टमा अनुबन्ध भएकी थिइन् । ‘कबड्डी कबड्डी कबड्डी’ ले उपासनालाई हिटको सुखसँगै जीवन्त अभिनय गर्ने अभिनेत्रीको रुपमा पनि पहिचान दिलायो । यो चलचित्रपछि भने उनले रोकिएको अध्ययन पूरा गर्न एक वर्ष अभिनयबाट टाढा रहने उद्घोष गरिन् ।
यही शनिवार यो चलचित्र रिलिजको एक वर्ष पूरा भएको छ । दर्शकहरु उपासनाको नयाँ चलचित्रको प्रतिक्षामा छन् । गएको एक वर्षमा उनलाई थुप्रै चलचित्रबाट अफर भए । तर, अहिलेसम्म उनले नयाँ चलचित्र साइन गरेको जानकारी प्राप्त छैन । दुई चलचित्रका कारण रोकिएको अध्ययन पूरा गर्न एक वर्ष अभिनयबाट टाढा बसेकी उनले कहिले दर्शकलाई खुसीको खबर दिने हुन्, सबैको चासो छ ।