प्राविधिकलाई सहयोग गर्दा राजेश हमालमाथि किन उठ्यो प्रश्न ?



कोरोनाका कारण रोजीरोटी गुमेर समस्यामा रहेका प्राविधिकलाई अभिनेता हमालले शनिवार आर्थिक सहयोग हस्तान्तरण गरेपछि चलचित्रकर्मी तथा दर्शकले उनको प्रशंसा गरेका छन् । उनले आर्थिक अवस्था कमजोर भएका १ सय १३ जना प्राविधिकलाई जनही ५ हजारको दरले सहयोग गरेका हुन् । तर, ५ लाख ६५ हजार बराबरको आर्थिक सहयोग उनी एक्लैले गरेका भने होइनन् ।

प्राविधिकहरुलाई सहयोग रकम हस्तान्तरण गर्नुभन्दा अगाडि अभिनेता हमालले विभिन्न सहयोगी व्यक्तिहरुको नाम लिएका थिए । आफ्ना केही नजिकका साथीहरुबाट प्राप्त सहयोग उनले प्राविधिकलाई हस्तान्तरण गरेका हुन् । तर, साढे ५ लाख सहयोग गर्न उनलाई किन सहयोगी हातको आवश्यकता पर्‍यो भनेर प्रश्न उठेको छ । उक्त कार्यक्रममा पत्रकारले उनलाई यही प्रश्न गरे ।

हरेक काम समुहमा गर्दा निरन्तरता र दिगो हुने अभिनेता हमालको बुझाई छ । उनले आफ्नो तर्फबाट प्राविधिकलाई गर्ने सहयोग यो मात्र नहुनसक्ने पनि बताएका छन् । ‘भोलीका दिनमा अरु क्रियाकलाप गर्नुपर्ने अवस्था पनि आउन सक्छ । समुहबाट गर्नु भनेको पनि सहज कुरा होइन । धेरै व्यक्तिलाई जुटाएर जिम्मेवारी लिनुपर्छ । त्यसैले सधैं समुहगत आवश्यकता पर्छ,’ उनले भने ।

केही कार्य सहयोग विना र केही सहयोगको साथमा हुने उनी बताउँछन् । उनले भने- ‘सहयोगको साथमा हुँदा तपाईंहरु (मिडियाकर्मी) यहाँ हुनुहुन्छ । व्यक्तिगत रुपमा सहयोग गर्दा तपाईंहरुको आवश्यकता नहुन सक्छ । त्यसैले व्यक्तिगत सहयोग पनि हुन्छ ।’ कोरोनाले सिर्जना गरेको असामान्य परिस्थितिमा सबैको साथ र सहयोगको आवश्यकता पर्ने उनको भनाई छ ।

उनले यो जटिल अवस्थामा चलचित्र निर्माता तथा निर्देशक हतोत्साहित नभएको पनि बताएका छन् । लकडाउनमा आफूलाई २/४ वटा चलचित्रबाट अफर भएको र अहिले स्क्रिप्ट अध्ययन गरिरहेको उनले बताए । अभिनेता राजेश हमालले स्थिति सामान्य भएपछि चलचित्रमा कमब्याक गर्ने संकेत पनि गरेका छन् । आफूले निर्देशन गर्ने चलचित्रको पनि तयारी भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu