२०७६ सालको मदन पुरस्कार चन्द्रप्रकाश बानियाँको उपन्यास ‘महारानी’ लाई र जगदम्बाश्री पुरस्कार भारतको दार्जीलिङ निवासी गायिका तथा नेपाली चलचित्रको गीतमा संगीत भर्ने पहिलो महिला संगीतकार शान्ति ठटाललाई प्रदान गरिने भएको छ । मदन पुरस्कार गुठीको आइतबारको साधारण सभा बैठकले दुई स्रष्टालाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

अम्बर गुरुङको संगीतमा ‘सम्हालेर राख’, ‘मेरो दुखी मन’ जस्ता कालजयी गीतबाट चर्चित बनेकी ठटालले नेपाली चलचित्र ‘परालको आगो’ र ‘बाँच्न चाहनेहरू’ को गीतमा संगीत गरेर चलचित्रमा संगीत भर्ने पहिलो महिलाका रूपमा परिचय बनाएकी छन् । उनले महाकवि लक्ष्मीप्रसाद देवकोटाका कृतिहरू ‘मुनामदन’, ‘कुञ्जिनी’ र ‘म्हेन्दो’ मा आधारित सांगीतिक सृजना पनि गरेकी छन् ।
रवीन्द्र भारती विश्वविद्यालयबाट औपचारिक संगीत शिक्षा प्राप्त गरेकी गायिका ठटाल पछिल्लो समय सक्रिय गायनबाट अवकाश लिएर दार्जिलिङमा बस्दै आएकी छन् । सन् १९३८ मा दार्जिलिङमा जन्मिएकी उनी तत्कालीन राजा महेन्द्रको जन्मदिनमा गाउन पहिलो पटक सन् १९६५ मा काठमाडौँ आएकी थिइन् । उनी पछिल्लो पटक पलेँटीमा आफ्नो प्रस्तुति दिन नेपाल आएकी थिइन् ।